• मंसिर १२ २०८१, बुधबार

कोशीमा डेंगीबाट १७ जनाको मृत्यु, ३० हजार बढी सङ्क्रमित

आश्विन १० २०८०, बुधबार

डेंगी सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित भएका छन् ।

तीमध्ये सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ । सुनसरीमा गत साउनदेखि हालसम्ममा १३ जनाको मृत्यु भएको छ भने १९ हजार चार सय ३२ जना सङ्क्रमित भएको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका जनस्वास्थ्य अधिकृत विवेचना चम्लागाईँले जानकारी दिए ।

कोशी प्रदेशको १४ जिल्लामै डेंगी फैलिएको छ । उनका अनुसार मोरङमा चार हजार दुई सय ४२ जना सङ्क्रमित छन् भने एक जनाको मृत्यु भएको छ ।

झापामा दुई हजार नौ सय ६४ जना सङ्क्रमित भएका छन् भने दुई जनाको मृत्यु भएको उनको भनाइ छ । उदयपुरमा पनि एक जनाको मृत्यु भएको छ । गर्मी र बर्खायाममा डेंगी फैलिने गरेको छ ।

डेंगीका अधिकांश बिरामी दुई महिनाभित्र फेला परेका हुन् । सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र झापालगायत अन्य जिल्लाका निजी तथा सरकारी अस्पतालमा डेंगीका बिरामीको उपचार भइरहेको छ ।

साउनदेखि हालसम्ममा तेह्रथुममा दुई सय ११, पाँचथरमा तीन सय ३८, इलाम पाँच सय ३५, उदयपुर आठ सय १६, धनकुटामा चार सय ३२, भोजपुरमा तीन सय ३१, सङ्खुवासभा आठ सय ६७, ओखलढुङ्गा ४०, ताप्लेजुङमा ३३ र खोटाङमा ४५, सोलुखम्बुमा २० जना डेंगीका बिरामी फेला परेका छन् ।