• असार ४ २०८२, बुधबार

मोटरसाइकलमा आएकाले गरे बारामा एक युवकको गोली हानी हत्या

आश्विन १० २०८०, बुधबार

सिमरा । बाराको पचरौता नगरपालिका-६ लक्ष्मिनियामा एक भारतीय युवकको गोली हानी हत्या भएको छ । मंगलबार साँझ करिब ६ बजे २२ वर्षीय अजितकुमार सिंहको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

सिंह भारतको मोतहारी जिल्लाको सुक्लहिया गाउँ निवासी भएको खुलेको छ । प्रहरीका अनुसार सिंहसँगै सोही ठाउँ बस्ने २५ वर्षीय सुजितकुमार सिंह, २४ वर्षीय चञ्चल पाण्डे, २२ वर्षीय मनिषकुमार सहानी र २० वर्षीय कामेश्वर सहानी दुईवटा अन टेस्ट मोटरसाइकलमा नेपाल प्रवेश गरेका थिए ।

लक्ष्मिनियामा रहेको पोखरी नजिक पुगेपछि एउटै बाइक पछाडि बसेका सुजितकुमार सिंहले मृतक अजितकुमार सिंहलाई पछाडिबाट गोली प्रहार गरेका थिए ।

त्यसपछि अरू मोटरसाइकलमा भारततर्फ भागेका थिए । घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको छ । शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगन्ज पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानले जानकारी दिएका छन् ।