काठमाडौं । काठमाडौं महानगर सडक व्यवसायीलाई छठसम्म ठाउँ र समय तोकेर व्यापार गर्न दिन लचिलो भएको छ । चाडपर्वलाई लक्षित गर्दै सडक व्यवसायीलाई व्यापार गर्न दिन महानगर तयार भएको महानगर स्रोतले जनाएको छ ।
उक्त विषयमा काठमाडौं महानगरपालिकाका प्रतिनिधिहरू र अभियन्ता ईः का प्रतिनिधिबीच छलफल भएको थियो । यसका साथै केही नीतिगत विषय पनि संशोधन गर्नु पर्ने भन्दै पुसमा हुने कार्यपालिका बैठकमा नीति संशोधन गर्न सकिने पनि महानगरले जनाएको छ ।
सहमति भएर मस्यौदा तयार भइरहेको वार्तामा उपस्थित एक सदस्यले जानकारी दिए । यसअघि महानगर र ईः का प्रतिनिधिबीच छलफल भए पनि अहिले ईः पनि वार्तामा सहभागी भएका छन् ।
मंगलबार दिउँसो राष्ट्रिय सभागृहमा महानगरले बनाएको वार्ता टोली र ईः का प्रतिनिधिबीच वार्ता भएको थियो । करिब ३ घण्टा लामो छलफलपछि वार्ता सकारात्मकउन्मुख भएको महानगर स्रोतले जनायो ।
वार्तामा महानगरबाट प्रवक्ता नवीन मानन्धर, कानुन न्याय तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्य र मेयर बालेन साहको सचिवालयबाट कुमार बेन, २२ का वडाध्यक्ष चिनीकाजी महर्जनलगायत टोली र ईः का तर्फबाट प्रतिनिधि गोविन्द नारायणलगायत सहभागी थिए ।
उपमेयर डंगोलले मंगलबार बिहान ईः लगायतसँग भेटेर कुराकानी गरेकी थिइन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र उपमेयर सुनीता डंगोललाई चुनावी बाचापत्र सम्झाउन ई ‘सौम्य विद्रोह’ थालेका हुन्।
काठमाडौं महानगरका मेयर बालेन शाहले स्थानीय तहको चुनावअघि फुटपाथ व्यवसायीको उचित व्यवस्थापन गर्ने भनेर गरेको वाचा पूरा गर्नुपर्नेलगायत माग ईःले राखेका छन् । महानगर प्रहरीले फुटपाथ व्यवसायीमाथि गरेको दुर्व्यवहार अन्त्य गर्न पनि ईः ले माग गरेका छन् ।