• असार ४ २०८२, बुधबार

ईःसितको वार्तामा बालेन नबस्ने

आश्विन ९ २०८०, मंगलवार

काठमाडौं । राष्ट्रिय सभागृहबाहिर ८ दिनदेखि उभिइरहेका अभियन्ता ईः र काठमाडौं महानगरपालिकाबीच वार्ता हुने भएको छ ।
मंगलबार दिउँसो साढे २ बजे वार्ता हुने मेयर बालेन शाहका प्रमुख स्वकीय सचिव भूपदेव साहले जानकारी दिए । काठमाडौं महानगरपालिकाले प्रवक्ता नवीन मानन्धरको नेतृत्वमा वार्ता टोली बनाएको छ भने आन्दोलनरत पक्षबाट अभियन्ता ईःसहितको टोली वार्तामा जाने भएको छ ।

मंगलबारको वार्तामा महानगरबाट प्रवक्ता मानन्धरसँगै दुईजना वडाध्यक्ष, कानुन तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्य, मेयर बालेनको सचिवालय प्रतिनिधि बस्ने तय भएको छ । आन्दोलनरत पक्षबाट ईः, कानुन विज्ञ, शहरी विकास विज्ञसहित ४ जनाको टोली जानेछ ।

‘उहाँहरुको माग के रहेछ, महानगरले गर्दा के समस्या भएको हो, के गरिदिनुपर्ने हो भनेर हामीले आज बोलाएका छौं, त्यसपछि थप छलफल हुन्छ’ भूपदेवले भने । वार्तामा मेयर बालेन साह भने नबस्ने भएका छन् ।

फुटपाथ व्यवसायीको उचित व्यवस्थापन हुनुपर्नेलगायतका माग राखेर ईःसहितका अभियन्ता काठमाडौं महानगरपालिकाको कार्यालय राष्ट्रिय सभागृह बाहिर उभिइरहेका छन् ।

यसअघि सोमबार मेयर बालेन शाहले वार्ता गर्न भन्दै ईःलाई बोलाउन नगर प्रहरी पठाएका थिए । ईःले एक्कासी आएर धम्कीको शैलीमा एक्लै बोलाएपछि नगएको बताएका थिए ।