• मंसिर १२ २०८१, बुधबार

१९ औं एसियाली खेलकुदः तेक्वान्दोमा नेपालको खराब सुरुवात

आश्विन ८ २०८०, सोमबार

हाङ्जाउ । १९ औं एसियाली खेलकुद, २०२२ अन्तर्गत तेक्वान्दोमा नेपालले खराब सुरुवात गरेको छ । १९ औं एसियाली खेलकुदमा सहभागी ११ तेक्वान्दो खेलाडीमध्ये हालसम्म चार खेलाडी प्रतियोगिताबाट बाहिरिएका छन्। अन्य खेलाडीले खेल्न बाँकी छ।

सोमबार सम्पन्न खेलमा नेपालका राहुल कुमाल र अन्जली तामाङ पराजित भएका छन्। पुरुष ५८ किलोमुनिको तौल समूहमा कुमाल साउदी अरेबियाका खेलाडीसित पराजित भएका हुन्। उनी ४-१२ र २-० अंकले पराजित भए।

यसैगरी, महिला ४९ किलोमुनिको तौल समूहमा तामाङ प्रिक्वाटर फाइनलमा पराजित भइन्। उनी थाइल्याण्डकी खेलाडीसँग १२-० तथा १०-० अंकले पराजित भइन्। तामाङले पहिलो चरणमा कम्बोडियाकी खेलाडीलाई पराजित गर्दै प्रिक्वाटर फाइनल प्रवेश गरेकी थिइन्।

यसअघि तेक्वान्दोको एकल पुम्सेको पुरुषतर्फ प्रेमबहादुर लिम्बू र महिलातर्फ स्वस्तिका तामाङ पराजित भइसकेका छन्।

एसियाली खेलकुदअन्तर्गत तेक्वान्दोमा अब पुरुषतर्फ गोविन्दबहादुर आले, वीरबहादुर महरा, अभिषेक बराल र ज्याकी यादव तथा महिलातर्फ आयशा लामा, सन्ध्याकुमारी सिंह र इन्दिरा बस्नेतले खेल्न बाँकी छ। यसअघि नेपालले एसियाली खेलकुदमा तेक्वान्दोबाट एक रजत र १३ कास्य पदक प्राप्त गरेको थियो।

रग्बीमा पनि नेपाल बाहिरियो

यसैबीच एसियाली खेलकुद अन्तर्गत रग्बी सेभेन्समा नेपालको चुनौती समाप्त भएको छ। समूह ‘डि’ मा नेपालसहित युएइ, चीन र अफ्गानिस्तान रहेका थिए। नेपालले समूह चरणको तीनै खेलमा हार बेहोरेको छ।