काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अब नेपालमा चिनियाँ लगानी भित्रने दाबी गरेका छन् । चीन भ्रमणका क्रममा आइतबार बेइजिङ पुगेपछि नेपाली दूतावासले आयोजना गरेको स्वागत समारोहलाई सम्बोधन गर्दै उनले उक्त दाबी गरेका हुन् ।
आइतबार नै चिनियाँ ‘बिजनेस कम्युनिटी’लाई नेपालमा लगानी गर्न नीतिगत र कानुनी जटिलता नरहेको आश्वस्त पारेको जनाउँदै प्रधानमन्त्री प्रचण्डले भने, “अब चिनियाँ लगानी नेपालमा भित्रन्छ ।”
शनिबार चिनियाँ राष्ट्रपति सी चिनफिङको भेटमा पनि हवाई यातायात, बाटो, पर्यटन, कृषिलगायतका क्षेत्रमा कसरी नेपाललाई सहयोग गर्न सकिन्छ भन्नेबारे छलफल भएको उनले जनाए । “विश्वासको एउटा राम्रो वातावरण बनेको छ,” सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले भने ।
अब नेपालको ध्यान स्वभाव र आवश्यकताले पनि आर्थिक विकासमा केन्द्रित भएको उनले जनाए । उनले चीनको विकासबाट नेपाल लाभान्वित हुनैपर्ने बताए । विदेशी लगानीकर्ताको लागि नेपालमा लगानी गर्ने वातावरण अनुकूल बन्दै गएको पनि उनले जनाए ।
प्रधानमन्त्रीको चीन भ्रमण शनिबारदेखि सुरु भएको हो । प्रधानमन्त्रीको रुपमा यो उनको तेस्रो चीन भ्रमण हो । आफ्नो भ्रमणले नेपाल-चीन सम्बन्ध अझ मजबुत बन्ने र आसपी हितका समझदारी बनाउने उनले बताए ।