काठमाडौं । भारतमा भएको १८औं जी-२० शिखर सम्मेलनमा नेपाल सहभागी हुन नपाएको विषय कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा उठेको छ । कांग्रेस केन्द्रिय सदस्यले जी-२० शिखर सम्मेलनमा नेपाललाई नबोलाएकोप्रति नेपालको कूटनीति कमजोर भएको हो भन्दै प्रश्न गरेका छन् ।
कांग्रेस केन्द्रिय सदस्य भिम पराजुलीले बंगलादेश सहभागी हुँदा नेपाल किन नभएका हो भन्दै प्रश्न गरे । पराजुलीले भने,‘गत हप्तामात्रै भारतमा सम्पन्न जी-२० शिखर सम्मेलनमा मित्रराष्ट्र भारतले छिमेकी बंगलादेशलाई उच्च प्राथमिकतामा राखेर, सहभागी गराएर, विद्युत व्यापारका कुराहरु विश्वसमामु पुर्याउँदा नेपालको किन उपस्थिति हुन सकेन ? यदि हामीले समयमै सुझबुझ पूणर् तयारी गरेको भए बंगलादेशको जस्तै अवसर प्राप्त गर्न सक्थ्यौं । हाम्रो कूटनीति कहाँ चुक्यो ? हामी गम्भीर ढंगले यस विषयबारे आत्मसमीक्षा गर्नुपर्छ ।’
जी २० मा अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजिल, क्यानडा, (युरोपेली सङ्घका सदस्य फ्रान्स, जर्मनी र इटाली) भारत, इण्डोनेशिया, जापान, दक्षिण कोरिया, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, टर्कीए, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिका सदस्य छन् ।
पराजुलीले कांग्रेस सरकारमा पनि प्रधानमन्त्री र गृहमन्त्री नभएको जस्तो लागेको बताए । उनले सरकारमा कांग्रेस छ वा छैन भन्ने कुरा कार्यकर्ताले सोधिरहेको बताए । पराजुलीले कांग्रेस सरकारमा भएपनि भ्रष्टाचार र अनियमितता बढ्दा पनि कांग्रेस मौन बसेको जनताले बुझाई रहेको उल्लेख गरे ।