काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेताहरुको कार्यविभाजन सहित जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) ११ कार्यान्वयन नहुने भएको छ ।
शनिबार बसेको सचिवालय बैठकले उक्त अपानी रोक्ने निणर्य गरेको हो । सो पार्टीका सम्मानित नेता झलनाथ खनालले भदौ ५-७ मा बसेको पार्टीको केन्द्रीय समिति बैठकपछि जारी भएको अपानिको कार्यान्वयन रोक्ने निणर्य भएको जानकारी दिए ।
‘अस्ति जारी भएको अपानि कार्यान्वयनमा रोक लगाइएको छ त्यो अपानि कार्यान्वयन हुँदैन । अब पुन परिमार्जन गरेर मात्रै कार्यान्वयनमा जाने अर्को अपानि जारी हुन्छ’, नेता खनालले भने, ‘रोक्ने निणर्य भएपछि कार्यान्वयनमा जाने कुरै भएन ।’ उनले के-के विषय परिमार्जन हुने भन्नेबारे भने खुलाएनन् ।
अध्यक्ष नेपालले छलफलबिनै अपानि-११ जारी गरेको भन्दै नेताहरुले चर्को असन्तुष्टि जनाउँदै कतिपयले राजीनामा नै दिएका थिए । अध्यक्ष नेपालले २१ जना नेतालाई केन्द्रीय समितिमा मनोनयन र धेरै नेताहरुको कार्यविभाजन गरेको अपानि जारी गरेका थिए । तर उक्त अपानिप्रति सम्मानित नेता खनालले समेत आपत्ति जनाएका थिए ।