काठमाडौं । नेपाली कांग्रेसको बैठकमा संघीयताबारे पुनर्विचार गर्नुपर्ने विषय उठेको छ । केन्द्रीय सदस्य शंकर भण्डारीले बैठकको तेस्रो दिन आइतबार संघीयताका बारेमा पार्टीले पुनर्विचार गर्नुपर्ने बताएका हुन् । उनले वर्तमान संघीय प्रणाली राष्ट्रिय सुरक्षाको दृष्टिकोणले खतरा रहेको बताए ।
‘संघीय प्रणाली मुलुकको समग्र हित र राष्ट्रिय सुरक्षा दृष्टिकोणले खतरा छ । यसमा पार्टीले पुनर्विचार गर्नुपर्दछ,’ उनले भने । उनले सनातन हिन्दु धर्ममाथि आक्रमण भैरहँदा पार्टीले के हेरेर बसेको भनेर प्रश्न पनि गरेका छन् ।
‘सनातनीहरूलाई जिस्काउने अपमानित गर्ने समग्र रुपमा नस्ट गर्ने कुरहरू भैरहेको छ । सरकार के हेर बसिरहको छ ? यसमा हाम्रो पार्टीको धारणा के हो ?,’ उनले भने, ‘आज देशमा जातीय नाममा युद्ध, धर्मको नाममा युद्ध हुने अवस्था आइसकेको छ । कांग्रेस के हेरेर बसेको छ ? यस विषयमा गम्भीर बन्न पर्दैन ?’
उनले पार्टीमा सभापति शेरबहादुर देउवा र उपसभापति पूणर्बहादुर खड्का बाहेकका पदाधिकारी युवा आए पनि परिवर्तन नभएकोमा प्रश्न गरे ।
‘सभापति र उपसभापतिबाहेक अधिकांश युवाहरू पदाधिकारी आउनुभयो । पार्टीको आन्तरिक अवस्था कस्तो छ ? न पार्टी चलायमान भएको छ न विधिसम्मत चलेको छ । न्यायोचित ढंगले पार्टी चल्न सकेको छैन । पार्टी यसरी चल्दैन । समसामयिक विषयमा पार्टीका दृष्टिकोण खोई ?,’ उनले प्रश्न गरे ।