काठमाडौँ । ग्रामिण क्षेत्रमा रहेका विपन्न वर्गका नागरिकको बीमा स्थानीय निकाय (पालिका)ले नै गरिदिने व्यवस्था गर्न नेपाल बीमा प्राधिकरणले आग्रह गरेको छ ।
साना तथा विपन्न वर्गसम्म बीमाको पहुँच नपुग्नुका साथै पहुँच पुगेकोहरूको पनि शुल्क भुक्तानी क्षमता नहुने भएकाले बीमालाई प्रोत्साहन गर्नका लागि पनि पालिकाहरूले उनीहरूको बीमा गरिदिने व्यवस्था गर्न प्राधिकरणले आग्रह गरेको हो ।
गत बिहीबार नेपाल बीमा प्राधिकरणले ललितपुरस्थित गोदावरी नगरपालिकासँग संयुक्त रूपमा आयोजना गरेको बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रममा प्राधिकरणले यस्तो बताएको हो ।
‘घटना कतिखेर हुन्छ भन्ने थाहा नहुने भएकाले दुर्घटना बीमा र कृषि तथा पशुपन्छी बिमालाई प्रोत्साहित गर्न तथा विपन्न वर्गको बीमा नगरपालिकाले नै गरिदिने व्यवस्था गनुपर्छ,’ बीमा प्राधिकरणका निर्देशक दिनेशकुमार लालले भने, ‘नगरपालिकाका सेवासँग बीमालाई आवद्ध गर्नुपर्छ किनभने बीमाले घरलगायत सम्पत्तिको जोखिम बीमा कम्पनीमा हस्तान्तरण भई आर्थिक सुरक्षण हुन्छ ।’
कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले कृषि तथा पशुपन्छी बीमा र घर बीमालाई योजनावद्ध किसिमले अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे । प्रमुख महर्जनले राहतको व्यवस्थाले समस्याको समाधान नहुने भएकाले जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण गर्न बीमा नै गर्नुपर्ने बताए ।