• बैशाख १० २०८२, बुधबार

बुटवलमा अखिल (क्रान्तिकारी) ले प्रस्तावित शिक्षा विधेयक जलायो

आश्विन २ २०८०, मंगलवार

बुटवल । आज क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) रुपन्देहीले प्रस्तावित शिक्षा विधेयक जलाएको छ । प्रस्तावित शिक्षा विधेयक निजीकरण, व्यापारीकरण एवम् जनविरोधी भएका कारण क्रान्तिकारीले सरकारले सदनमा पेश गरेको शिक्षा विधेयक जलाएको बताएको छ ।

क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य तथा रुपन्देही जिल्ला अध्यक्ष मनोज थापाको नेतृत्वमा सडकमा आएको अखिल (क्रान्तिकारी) ले प्लेकार्ड प्रदर्शन सहित नाराबाजी गर्दै उक्त विधेयक जलाएको हो । विधेयक जलाउने कार्यक्रमलाई सम्बोधन गर्दै मनोज थापाले यो विधेयक तुरुन्तै खारेज गरी जनपक्षीय एवम् निःशुल्क शिक्षा घोषणा गर्न माग समेत गरे ।

उनले यदि यसो नगरिए थप संघर्षका कार्यक्रममार्फत् कडा जवाफ दिइने समेत बताए । अखिल (क्रान्तिकारी) सदनमा पेश भएको शिक्षा विधेयक विरुद्ध असोज २ गते देशभर प्रस्तावित शिक्षा विधेयक जलाउने, असोज ३ गते मसाल जुलस, असोज ४ गते मन्त्री र सांसदहरूले लगानी गरेको विद्यालयको कालो ब्यानर राख्ने, असोज ५ गते देशैभर प्रदर्शन, असोज ७ गते मन्त्री र सांसदले लगानी गरेको विद्यालयमा प्रदर्शन, असोज ८ गते मन्त्री र सांसदले लगानी गरेको विद्यालयको प्रिन्सिपलको कार्यालय र लेखा शाखामा तालाबन्दी गर्ने, असोज ९ गते देशभर रचनात्मक प्रदर्शन संघर्षका कार्यक्रमहरु घोषणा गरेको थियोे । सोही कार्यक्रम अनुसार आज शिक्षा विधेयक जलाएको हो ।