• मंसिर ११ २०८१, मंगलवार

दाइजो होइन, साहस हेर

आश्विन २ २०८०, मंगलवार

दाइजो प्रथाका कारण बिहे हुन नसकेपछि भारतकी कन्या स्मिता घुगे सगरमाथा सफलतापूर्वक चढेर आफ्नो साहस प्रदर्शन गरेकी छन् । दक्षिण एशियाली समाजमा घृणाका रूपमा रहेको ‘दहेज प्रथा’ (दाइजो) का कारण हजारौं चेलीहरूले ज्यान गुमाइरहँदा घुगे भने सगरमाथा चढेर दहेज प्रथा विरूद्ध आफ्नो घृणा अभिव्यक्त गरेकी छन् ।

उनको साहसिक क्रियाकलापले दहेज प्रथाका कारण कष्ट भोगिरहेका आमा, दिदी, बहिनी र चेलीहरूलाई उत्साह र ऊर्जा दिएको छ । त्यति मात्र होइन, घुगेको यो कार्यले दहेजका लालसीहरूलाई दह्रो झापड पनि दिएको छ । नयाँ पुस्तालाई उनले सकारात्मक तर सिर्जनात्मक भएर विरोध प्रदर्शन गरी दहेज प्रथाविरूद्ध अघि बढ्न सक्ने आकर्षक र लोकप्रिय सन्देश दिएकी छिन् ।

दक्षिण एशियाको सबैभन्दा ठूलो देश भारतमा सदिऔंदेखि जरा गाडेर बसेको दहेज प्रथा समाजको क्यान्सरका रूपमा रहेको छ । त्यहाँ आजका दिनमा पनि दहेजका कारण दिनहुँ महिलाहरुले प्रताडना झेलिरहनुका साथै ज्यान गुमाउनुपरिरहेको छ ।

यही कुरीति र कुसंस्कारका रूपमा रहेको दहेज प्रथाका कारण बिहे नभएपछि स्मिता घुगेले विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथामा चढेर अनौठो तर गम्भीर सन्देशमूलक विरोध प्रदर्शन गरेकी हुन् । उनी महाराष्ट्रको पूणेमा बसोबास गर्दै आएकी छिन् ।

अहिले एक सफल हिमाल आरोहीका रूपमा वाहवाही कमाइरहेकी घुगेको यो यात्राको सोच र योजना दहेज प्रथाको विरोधमा बनेको मनोविज्ञानको परिणाम हो । उनको बिहेको कुरा नचलेको होइन, तर केटापक्षबाट अकूत धनरासीको माग भएपछि बिहेको कुरा रोकिएको थियो ।

बिबाह जीवन साथी चयन र सुखद दाम्पत्यताका लागि हुन्छ । तर भारतमा केटीपक्षलाई पैसासँग जोखेर हेर्ने गरिन्छ । सगरमाथा चढेर कीर्तिमान राख्न सफल घुगेलाई पनि बिहेको प्रसँगमा यस्तै सामाजिक फसाद आइलागेको थियो ।

केटाकेटीको देखाभेट भएको र घरपरिवार राजी भएको अवस्थामा पनि केटा पक्षबाट १८ लाख भारू दाइजो माग भएपछि उनले त्यसको ठाडै विरोध गर्दै सातै महादेशका अग्ला हिमाल आरोहण गर्ने प्रतिज्ञा गरेकी थिइन् ।

यस्तो ‘भीष्म प्रतिज्ञा’ गर्दाका बखत नै उनले दाइजोमा गरिने खर्चले विश्व यात्रा र हिमाल आरोहण सुरू गरेकी थिइन् ।