काठमाडौं । क्यानडा र भारतबीचको कूटनीतिक सम्बन्ध थप पेचिलो बनेको छ । क्यानडाले शिख नेताको हत्यामा भारतको संलग्लनता रहेको आरोपमा भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेको २४ घण्टा नबित्दै भारतले पनि क्यानडाली कूटनीतिज्ञलाई देश छोड्न निर्देशन दिएको छ ।
मंगलबार भारतको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी एक जना क्यानडाली कुटनीतिज्ञलाई ५ दिनभित्र देश छाड्न भनेको जानकारी गराएको छ ।
‘भारतका लागि क्यानडाका उच्चायुक्तलाई आज बोलाएर भारतमा रहेका क्यानाडाली कूटनीतिज्ञलाई देश निकाला गर्ने भारत सरकारको निर्णयबारे जानकारी गराइएको छ । सम्बन्धित कूटनीतिज्ञलाई ५ दिनभित्र भारत छाड्न भनिएको छ’, भारतीय विदेशमन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘यो निर्णयले हाम्रो आन्तरिक मामिलामा क्यानाडाली कूटनीतिज्ञहरूको हस्तक्षेप र भारत विरोधी गतिविधिहरूमा उनीहरूको संलग्नताप्रति भारत सरकारको बढ्दो चिन्तालाई झल्काउँछ ।’