• असार ३ २०८२, मंगलवार

मधेश आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई उपेन्द्र यादवको निर्देशन

भाद्र ३१ २०८०, आईतवार

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तेस्रो मधेश आन्दोलनका लागि तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टीको मधेश प्रदेश समितिले आइतबार जनकपुरधाममा आयोजना गरेको संगठन विस्तार अभियानको उद्घाटन गर्दै अध्यक्ष यादवले मधेश विद्रोहबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न र समावेशी समानुपातिक सिद्धान्तलाई राज्यका हरेक क्षेत्रमा लागु गराउन आन्दोलनको आवश्यकता रहेको बताएका हुन् ।

मधेसी जनतालाई खस पहाडी शासकले अझै विदेशीको नजरले हेर्ने गरेको उनको आरोप छ । ‘संविधानमा समावेशी र समानुपातिकको कुरा उल्लेख गरिए पनि व्यवहारमा देखिएको छैन । अझै पनि संवैधानिक निकाय, प्रहरी प्रशासनलगायतका निकाय समावेशी छैन ,’ उनले भने ।

मुलुकमा मधेशको जनसंख्या ५३ प्रतिशत रहे पनि मधेशलाई मात्र १३ प्रतिशत बजेट पाउने गरेको अध्यक्ष यादवले बताए । मधेशको विकास बिना मुलुकको विकास सम्भव नभएको उनले बताए । मधेसी समाजमा पनि जातिवादीसहितका विकृति र विसंगतिविरुद्ध लड्नुपर्ने अध्यक्ष यादवको भनाइ थियो ।

कार्यक्रममा मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले विगतमा मधेश प्रदेशले राम्रो काम गरे पनि त्यसको प्रचारप्रसार गर्न नसक्दा गत चुनावमा पार्टीले हार व्यहोरेको बताए ।