• असार ३ २०८२, मंगलवार

बाँचुन्जेल पद नछाड्ने प्रवृत्ति तोड्न चाहन्छुः एमाले अध्यक्ष ओली

भाद्र ३० २०८०, शनिबार

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अझै २० वर्ष सक्रिय रहने बताएका छन्। अध्यक्ष ओलीले २० वर्ष आफू सक्रिय रहन्छु भन्नुको अर्थ देश र पार्टीको नेतृत्व लिइरहन्छु भन्ने नरहेको पनि स्पष्ट पारे।

शनिबार भक्तपुरमा आयोजित विद्यार्थीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफू सक्रिय रहेर देश र पार्टीको नेतृत्व गर्नेलाई सहयोग गर्ने बताए। त्यस अवसरमा अध्यक्ष ओलीले बाँचुन्जेल पद नछोड्ने प्रवृत्तिलाई आफूले तोड्न चाहेकोसमेत उल्लेख गरे।

उनले भने, ‘… मैले २० वर्ष त सक्रिय रहने विचार गरेको छु अब। तर २० वर्ष सक्रिय रहनुको अर्थ म २० वर्षै देशको नेतृत्व गर्छु, पार्टीको नेतृत्व गर्छु भनेको होइन। नेतृत्व गर्नेहरुलाई सहयोग गर्छु सक्रिय रहेर। एउटा के प्रचलन छ भने मान्छे बाँचुन्जेलसम्म पद छोड्ने नखोज्ने, पदमै टाँसिन खोज्ने, आवश्यकता होस् कि नहोस्, काम गर्न सकोस् कि नसकोस्, स्मरण शक्ति होस् कि नहोस्। बोल्न सकोस कि नसकोस् । तर पनि पदमा बसिरहन चाहने। त्यो प्रवृत्ति छ। त्यो प्रवृत्तिलाई चाहीँ मैले सचेतनतापूर्वक तोडन चाहन्छु।’

बाँचुन्जेलसम्म पद छोड्ने नखोज्ने, पदमै टाँसिन खोज्ने प्रवृत्तिलाई आफूले आफ्नो व्यवहारबाट तोड्न चाहेको उनको भनाइ थियो। ओलीले देशमा तस्करी, कमिसनखोरी, भ्रष्टाचारीको बिगबिगी रहेको जिकिर गर्दै अबको २० वर्षपछि त्यस्तो अवस्था देख्न नपर्नेसमेत बताए।