काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सरकारले उद्योगीलाई अपराधीजस्तो व्यवहार गरेर थुन्दा व्यवसायीलाई हतोत्साही बनाएको बताएका छन् ।
शुक्रबार परिसंघले आयोजना गरेको २०औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा अग्रवालले सरकारको व्यवहारले व्यवसायीलाई दुःखी बनाएको बताए । सरकारको नीति व्यवसायलाई सहजीकरण पर्नेमा नियन्त्रण गर्ने खालको रहेको उनको गुनासो छ ।
‘सरकारले उद्योगीलाई गरेको पछिल्लो व्यवहारले उद्योगी त्रासमा छन् । उद्योगीलाई थुन्ने प्रवृत्तिले लगानीकर्ता हतोत्साहित भएका छन्,’ अग्रवालले भने, ‘उद्योगीलाई प्रहरी लगाएर दण्डित गर्नुभएन । ठूलो अपराध हो भने ठीक हो । तर, जे मा पनि हत्कडी लगाउँदा बजारमा नकारात्मक सन्देश गयो ।’
कसैले निवदेन दिएकै भरमा व्यवसायीहरूलाई पक्राउ गर्ने, थुन्ने अनि मात्रै सुन्ने गरिएको उनको गुनासो छ । व्यवसायीहरू अग्रिम जमानतमार्फत् फौजदारी मुद्दाको आरोपित व्यक्तिलाई अनिवार्य रूपमा पक्राउ गर्ने अभ्यासलाई अदालत प्रक्रियाबाट व्यस्थित गरी जमानतमा बस्न पाउने व्यवस्था गर्नु आवश्यक रहेको उनको भनाइ छ ।
‘कसैले निवदेन दिएकै भरमा व्यवसायीहरूलाई पक्राउ गर्ने, थुन्ने अनि मात्रै सुन्ने गरिएको छ । यसले लगानीकर्तालाई मात्रै निरुत्साहित बनाइरहेको छैन । आम सर्वसाधरण र सार्वजनिक निकायलाई समेत चिन्तित बनाएको पाएका छौँ,’ उनले भने ।