काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेतृत्वले आवश्यकता अनुसारको काम गर्न नसक्दा जनता आक्रोशित बनेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनता नेतृत्वबाट काम नभएपछि विद्रोहीहुँदै गएको र निराश बनेको बताए ।
उनले ‘सिंहदरबारमा आगो लगाउँछु’ भन्नेहरूलाई जनताले साथ र स्याबासी दिँदै आएको बताए । उनले देशको नेतृत्व अकर्मण्य भएको बताए । समाजवादका भाषण गरेर मात्रै नहुने भन्दै उनले आमजनताको परिवर्तन गर्न जरुरी रहेको बताए । उनले नेतृत्वमा देखिएको विकृतिका कारण राप्रपा र रास्वपा पार्टीतिर जनताहरू आकर्षित हुन थालेको पनि बताए ।
‘जनता निराश हुँदैछन् । जनता आक्रोशित हुँदैछन् । जनता विद्रोही हुँदैछन् । जनतामा कस्तो भावना आउन थाल्यो भन्दा एउटाले पागलपनका साथ के भन्छ भन्दा मलाई यस्तो गर्ने, म तेरो सिंहदरबारमा आगो लगाउँछु भन्छ । आधा घण्टामा ३० हजारले लाइक गरे । कस्तो अचम्म । स्याबास गर्छन् सिंहदरबार जलाउँछु भन्दा । कस्तो मनस्थिति पैदा हुन थाल्यो देशमा ?,’ खनालले भने ।