• असार ३ २०८२, मंगलवार

संघीयता बिफल भयो भने संघकै कारणले हुँदैछ : मुख्यमन्त्री चौधरी

भाद्र २९ २०८०, शुक्रबार

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संघीयताको पूणर् कार्यान्वयनका लागि प्रदेश सरकार अधिकार सम्पन्न हुनुपर्ने बताएका छन् । त्यो भूमिका संघीय सरकारले निर्वाह गर्नुपर्ने उनले बताए ।

प्रदेश सरकार र स्थानीय सरकारले पूर्ण अधिकार नपाएको भन्दै तत्काल अधिकार सम्पन्न गराउन संघीय सरकारसँग उनले आग्रह गरे ।

गाउँपालिका महासंघको आयोजनामा दाङको भालुवाङमा शुक्रबार भएको स्थानीय सरकार र प्रदेश सरकारबीच प्रदेशस्तरीय परामर्श गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले संघले तल्लो तहमा अधिकार नदिँदा कार्य सम्पादनमा समस्या भइरहेको बताए ।

सरकार रहेको तर अधिकारमा सम्पन्न सरकार नहुँदा संघीयतासमेत कार्यान्वयन नभएको उनको तर्क छ । अहिले संघीयतामा आलोचना बढिरहेको भन्दै त्यो अवस्था संघीय सरकारले ल्याएको बताए । मुख्यमन्त्री चौधरीले प्रदेश सरकारले पाएको अधिकारसमेत संघले दिन नखोज्दा संघीयता कार्यान्वयनमा जटिलता उत्पन्न हुने संकेत देखिएको बताए ।
‘अहिले भएको संघीयताको विरोध संघ सरकारकै कारण भएको छ,‘उनले भने, ‘संघीयता बिफल भए पनि संघकै कारण हुँदैछ ।’ संघले पूर्ण अधिकार प्रदेशलाई दियो भने मात्रै संघीयता कार्यान्यवन हुने र प्रदेश सरकारको औचित्य पनि पुष्टि हुने बताए ।