काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो अमेरिका र चीन भ्रमणबारे संसदलाई जानकारी गराएका छन्।
शनिबार संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन अमेरिका न्युर्योक जान लागेका र त्यहाँबाटै असोज ५ गते चीनको औपचारिक भ्रमणमा जानेबारे जानकारी दिएका हुन्।
प्रधानमन्त्री दाहालले ७८औँ महासभामा आफूले सम्बोधन गर्ने जानकारी संसदलाई गराए। उनले भने,’सरकार प्रमुखको हैसियतले म राष्ट्रसंघ ७८औँ महासभालाई सम्बोधन गर्नेछु। राष्ट्रसंघको मुख्यालयमा सरकार प्रमुखको हैसियतमा उपस्थित भइ नेपाली मौलिकताको लोकतन्त्र, हाम्रो अवस्थाबारे जानकारी गराउँछु।’
भ्रमणका क्रममा विभिन्न देशका सरकार प्रमुख एवं नेताहरुसँग साइडलाइन वार्ता हुने प्रधानमन्त्रीले संसदलाई जानकारी दिए। उनले भने,’दिगो विकासका लक्ष्य, साझा चासो र लक्ष्यबारे साइड लाइन बैठकमा हुने कार्यक्रम तय भएको छ। उच्चस्तरीय बैठकमा भाग लिने तयारी गरेको छु।’
यसपटक नेपालले अल्पविकसित देशको अध्यक्षको रुपमा विशेष सम्बोधन गर्न पाउने पनि उनले बताए। भ्रमण टोली सकेसम्म साने बनाउने प्रतिबद्धता जनाउँदै दाहालले भने,’सम्बोधनमा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन अन्तराष्ट्रिय समुदयाको सहयोग खोजिनेछ। अल्पविकसित देशले झेल्दै आएको समस्याबारे समाधानको उपाय खोज्ने, जलवायु परिवर्तनबाट नेपाल जस्ता देशले भागेको समस्याबारे जानकारी गराइनेछ।’
अमेरिकापछि असोज ५ गते आफू चीनको गान्जाओ ओर्लिने दाहालले संसदलाई बताए। अमेरिकाका पछि लगत्तै चीन भ्रमण गर्नुपरेकाले एकैपटक दुई देशका लागि उड्नु परेको दाहालको भनाइ थियो। ‘छोटो समयका कारण अमेरिकाबाटै चीन जान लागेको हुँ, प्रधानमन्त्रीले अगाडि भने, ‘चीनसँगको सम्बन्ध थप घनिष्ट बन्दै गएको छ। पछिल्ला वर्षमा सम्बन्धमा थप बलियो हुँदै आएको छ। मेरो प्रधानमन्त्रीका रुपमा तेस्रो भ्रमण हो। हाञ्जाओमा राष्ट्रपति सि जिङ्पिङसँग भेट हुनेछ।’