काठमाडौं । नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश संसदीय दलले अझै उपनेता चयन गर्न सकेको छैन । उपनेता बन्न धेरै आकांक्षी देखिएका कारण दलले उपनेता चयन गर्न नसकिएको हो ।
बागमतीका मुख्यमन्त्रीसमेत रहेका संसदीय दलका नेता शालिकराम जमकट्टेलले उपनेताका आकांक्षी धेरै भएको र सहमतिबाटै दलको उपनेता बनाउने प्रयास भएकाले अलिकति ढिलो भएको बताए ।
उनले अब केही दिनमा छलफल गरेर सहमतिबाटै दलको उपनेता टुङ्गो लगाउने बताए । ‘म मुख्यमन्त्री पनि भएकाले आफ्नो दलभित्रका कतिपय काममा उपनेता नहुँदा अप्ठ्यारो परेको छ,’ जमकट्टेलले भने, ‘कतिपय कुराहरू नमिलेका कारण केही ढिलाइ भएको हो, अब सहमति गरेर उपनेता चयन गर्छौं ।’
सांसदहरू युवराज चौलागाईं, सरल सहयात्री पौडेल, युवराज दुलाल, कुमारी मोक्तानलगायतले संसदीय दलको उपनेता बन्ने चाहना राखेका छन् ।
बागमती प्रदेशमा कांग्रेस र माओवादीले आधा-आधा कार्यकाल मुख्यमन्त्री लिने सहमति यसअघि नै गरिसकेका छन् ।
अहिले संसदीय दलको नेता मुख्यमन्त्री भएकाले अर्को कार्यकालमा उपनेताले पार्टीको तर्फबाट सरकारको नेतृत्व गर्ने मुख्यमन्त्रीपछिको वरीयता पाउने भएकाले उपनेता बन्न सांसदहरूले दाबी गरेका हुन् । उपनेता बन्न चाहनेमध्ये दुलाल र मोक्तान अहिलेकै सरकारमा मन्त्री छन् । पौडेल पार्टीको बागमती प्रदेशको अध्यक्षसमेत हुन् ।
पौडेलले संसदीय दलको नेता छान्ने बेलामा पनि चुनावी प्रक्रियामा जानुपर्ने र आफू संसदीय दलको नेताका लागि स्वाभाविक उम्मेदवार रहेको बताएका थिए । माओवादी नेतृत्वले जमकट्टेललाई नै दलको नेता बनायो
। बागमती प्रदेश सभामा माओवादीको २१ सिट छन् ।