• असार २ २०८२, सोमबार

कर्मचारीतन्त्रले जोखिम उठाउन तयार भए परिणाम दिने काम गर्न सकिन्छ : प्रम दाहाल

भाद्र २७ २०८०, बुधबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देश र जनतालाई परिणाम दिन राजनीतिज्ञ र कर्मचारीतन्त्रले जोखिम उठाउन तयार हुनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित ‘आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन समीक्षा’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले परिणाम दिन नसक्ने बताए ।

‘आफ्नो कार्यादेश अनुसार कर्मचारीले जोखिम उठाउन सक्नु पर्दछ,’ दाहालले भने । कार्यक्रममा ‘रिपोर्ड कार्ड’को प्रस्तुतिपछि प्रधानमन्त्री दाहालले जोखिम उठाउन तयार हुने मनोविज्ञानले मात्र राम्रो परिणाम दिने बताए । ‘हामी सबैले जिम्मेवारी बहन गर्नेतिरबाट सोच्नुपर्छ । जिम्मेवारी पन्छाउने प्रवृत्तिले परिणाम दिँदैन’, उनले भने, ‘जिम्मेवारीमा जोखिम हुन्छ । सबै कर्मचारी जोखिम मोल्न तयार भए मात्रै परिणाममुखी नतिजा आउँछ ।’

प्रधानमन्त्रीले भने, ‘नीति तथा कार्यक्रम र बजेटको मासिक समीक्षा गर्ने प्रक्रियाको सुरूआत हुनु निकै राम्रो सुरूआत हो । राम्रो परिणाम ल्याउन आउने दिनहरूमा धेरै मेहनत गर्नुपर्ने देखिन्छ । यसले प्रभावकारी परिणाम दिन सकिन्छ ।’

कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेले प्रस्तुत गरेको ‘आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन समीक्षा’ शीर्षकको रिपोर्ट कार्डमा गत वर्षको तुलनामा यस आर्थिक वर्षमा आर्थिक परिसूचकहरूमा राम्रो सुधार आएको उल्लेख गरिएको छ ।