• मंसिर ११ २०८१, मंगलवार

ओडारदेखि भण्डारसम्म शिक्षायात्रा

भाद्र २६ २०८०, मंगलवार

जुम्ला जिल्लाको पातारासी गाउँपालिकास्थित लासी बजारको छेवैमा जप्न नाम गरेको गाउँ छ । त्यही जप्न गाउँस्थित सैंयौं मानिस अट्न सक्ने एक प्राकृतिक ओडार छ । प्राकृतिक प्रकोप छेक्नसक्ने त्यही ओडारबाट पाताराशीमा शिक्षाको किरण झुल्किएको थियो ।

स्थानीय मानिस जम्मा भएर राडी पाखी बुन्ने, उखान चुट्किला सुनाउने, धान कुट्ने आदि काम गर्ने यही ओडारबाट सुरू भएको अनौपचारिक शिक्षाको विकास अहिले माध्यमिक तहसम्म हुन पुगेको छ । यो शिक्षामा मलजल हाल्ने काम मानवशास्त्री डोरबहादुर विष्टले गरेका थिए ।

२०१७ सालमा सुरू भएको प्राथमिक विद्यालय अहिले आएर ऋणमोक्ष माध्यमिक विद्यालयमा परिणत भएको छ । मानवशास्त्री विष्टले आफ्नो क्रियाशील जीवनको उत्तराद्र्धमा बालेको यो दियो अहिले गौरव गर्न लायक बनिसकेको छ ।

विष्टले २०५० सालमा ऋण मोक्ष मावि डिल्ली चौरमा बेलायत, जापान र जर्मनी सरकारको आर्थिक सहयोगमा सुविधाजनक भवन, बिजुली बत्ती, शैक्षिक सामग्री र छात्रावासको व्यवस्थापन गरेर पाताराशी (चौधबिस)लाई बिर्सिनसक्नुको गुन लगाएका छन् । यो गुनको स्थानीय बासिन्दा अहिले पनि निकै ताजास्मरण गर्छन् ।

विष्टले छोटो समयमै शिक्षाप्रतिको भोग जगाइसकेपछि ऋणमोक्ष मावि ६४ औं वसन्तमा प्रवेश गरिसकेको छ । यसले बालविकासदेखि कक्षा १२ सम्मको पठनपाठनलाई निरन्तरता दिइरहेको छ । ६२३ जना विद्यार्थी अध्ययनरत यस विद्यालयको हिमाली भेगमा पठनपाठन कम चुनौतिपूर्ण छैन ।

छात्राबासमा अहिले ५० जना छात्रा बसिरहेका छन् । पाँच वर्षभित्र सूचना प्रविधिमैत्री बनाउने लक्ष्य राखिएको यो विद्यालयमा भूपु विद्यार्थी अक्षयकोष स्थापना हुँदै छ । एसईई र १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्ति दिइने यसको उद्देश्य रहेको छ ।