काठमाडौं । विमान बिग्रिएपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनको सम्पूर्ण प्रतिनिधिमण्डल भारतमै अड्किएको बताइएको छ । सेप्टेम्बर ९ र १० मा भएको जी-२० शिखर सम्मेलनका लागि भारतमा रहेका ट्रुडो आइतबार फर्किने तयारी थियो । तर, विमानमा समस्या आएपछि उनको बसाइ एक दिन लम्बिएको बताइएको छ । यद्यपि, समस्या के थियो भन्ने विषय भने खुलाइएको छैन ।
छिटोमा ट्रुडो मंगलबार मात्रै भारतबाट फर्किने बताइएको छ । भारत र क्यानडाबीचको सम्बन्ध पछिल्लो समय तनावपूर्ण बनेको छ । भारतको पञ्जाबमा छुट्टै शिख राज्यको माग गर्ने खालिस्तानी मुभमेन्ट क्यानडामा चर्किंदो छ । यसका साथै त्यहाँ हिन्दु र भारतसँग सम्बन्ध आक्रमणहरू भइरहेको भन्दै भारतको असन्तुष्टि छ ।
जी-२० सम्मेलनमा समेत भारतीय प्रधानमन्त्री मोदी र ट्रुडोबीच विशेष कुराकानी भएको छैन । मोदीले सामाजिक सञ्जालमा सेयर गरेको सबै फोटोमा उनले नेताहरुसँग हात मिलाएका छन् तर, ट्रुडोसँग भने अलग उभिएको फोटो राखेका छन् ।