मोरङ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संसदीय प्रणाली र निर्वाचन प्रणालीमा दोष रहेकोले संविधान संशोधन गरेर सच्याउनु पर्ने बताएका छन् ।
विराटनगरमा सोमबार पत्रकारसँगको कुराकानीमा अध्यक्ष यादवले कोशी प्रदेशमा गठबन्धनको निणर्य सही र गलतभन्दा पनि संसदीय व्यवस्थाको संरचनामा नै पुनर्विचार गर्नुपर्ने बताएका हुन् ।
‘संसदीय व्यवस्थामा बहुमत प्राप्त दलले सरकारमा बस्ने र बहुमत प्राप्त गर्न नसकेपछि मध्यावधि चुनावमा जानुपर्ने होइन ?’, उनले भने, ‘अहिलेको संविधानमा मध्यावधिमा जान पाँच स्टेप तल पुर्याउने विषय नै त्रुटिपूर्ण हो ।’
कोशी प्रदेशमा अहिले देखिएको समस्या राजनीतिक भएकोले त्यसलाई राजनीतिक दलले राजनीतिक रूपमा नै समाधान गर्नुपर्ने यादवको भनाइ थियो । ‘कोशी प्रदेशमा देखिएको राजनीतिक मुद्दा अदालतमा पुर्याउनु हुँदैन थियो,’ उनले भने, ‘राजनीतिक मुद्दा नेताले राजनीतिक रूपमा समाधान गर्न नसकेरै अदालतमा जाने र त्यसरी नै न्यायिक विषय राजनीतिमा आउने गरेको छ जुन उचित होइन त्यसलाई अन्त्य गरेर अघि बढ्नुपर्छ ।’
संविधानमा भएको त्रुटिपूर्ण शासकीय संरचना र निर्वाचन प्रणालीले नै कोशीमा राजनीतिक अस्थिरता, अन्योलता र विकृतिपूर्ण भएको अध्यक्ष यादवले बताएका हुन् । त्यसैले संशोधन गरेर संविधानमा भएको शासकीय संरचना र निर्वाचन प्रणालीमा फेरबदल गरेर अघि बढ्नुपर्ने उनले बताए ।
कोशी प्रदेशमा देखिएको राजनीतिक अस्थिरता राजनीतिक दलहरूबीच सहमति र सहकार्य गरेर अन्त्य गर्नुपर्ने यादवको भनाइ थियो । उनले कोशीमा अहिले देखिएको समस्या राजनीतिक भएकाले दलहरूले राजनीतिक रूपमा नै सहमति, सहकार्य र साझेदारी गरेर समाधान गरेर जनभावना अनुसार प्रदेशको काम अघि बढाउनु पर्ने बताए ।