भारतीय सिनेमा जवान अहिले हलहलमा प्रदर्शन भैरहेको छ । चर्चा जवान कै छ । यो फिल्म हेरेर निस्किने नेपाली युवाहरुको मनमा यो प्रश्न उठेकै हुनुपर्छ जुन प्रश्न मेरो मनमा पनि उठ्यो । भारतको जवान शाहरुख खान हो भने नेपालको जवान को ? बालेन साह ? कि म आफै ? म आफै जवानको भूमिकामा उत्रिनुको निम्ति के मसँग समय छ ? हिम्मत छ ? वा के मैले मेरो जन्मभूमीमा सम्भावना देखेको छु ? यी जायज प्रश्नहरु हुन् ।
शाहरुख खानको फिल्मलाई म किन नेपाल र बालेन साह जस्ता पात्रहरुसँग जोड्दैछु ? त्यसको कारण छ । किनकि शाखरुखको जवानमा परम्परागत भ्रष्ट राजनीतिले देशलाई खोक्रो बनाउँदै लगेको देख्न सकिन्छ । त्यसैले सिनेमाले देशको प्रणालीभित्रको विकृतिमाथि जोड्दार प्रहार गरेको छ । यो भारतको मात्र नभएर नेपाल जस्तो गरिब मुलुकको यथार्थता पनि हो ।
त्यसैले नेपाली समाज एउटा जवानको खोजीमा छ । तर नेपाली लाखौं जवान युवाहरु विदेशिएका छन् । विमानस्थलमा हेर्दा दिनहुँ सरदर २ हजार ४ सय भन्दा बढी युवा काम र पढाईको लागि मुलुक छोडेर जाने गरेका छन् । लाग्छ, सिङ्गो मुलुक नै क्रमशः विदेश उडिरहेको छ ।
अघिल्लो वर्ष मात्र करिब ९ लाखले काम र अध्ययनको लागि मुलुक छाडेको तथ्याकंले पनि मुलुकको विकराल स्थिति दर्साउँछ । भ्रष्ट नेता-नेतृत्व र राज्य प्रणालीले देश कसरी खोक्रो बनाउँछ र त्यसलाई सुधार गर्न कुनै चमत्कारीक पात्र वा जवान अगाडी आउनु पर्छ । उसले जस्तोसुकै तौरतरिका प्रयोग गरोस् तर न्याय र परिवर्तन हुन पर्यो । अति भएपछि समाजले यसरी सोच्ने रहेछ ।
जवानमा बैंकको ऋण तिर्न नसकेर आत्महत्या गर्न बाध्य किसानको समस्या देखाइएको छ । सरकारी अस्पतालको बिग्रँदो अवस्था र चरम लापरवाहीका कारण सर्वसाधारणले ज्यान गुमाएको तथ्य प्रकाश पारेको छ । केहि दिन अगाडी कान्ति बालअस्पतालको आपतकालीन सेवा नपाएर एक बालिकाको ज्यान गयो । यस्ता घटनालाई भारतीय समाजमा देखिएको यो समस्या नेपाली समाजको व्यथासँग मेल खान्छ ।
हाम्रोमा पनि खेतीको समयमा मल हाल्न नपाएर किसानको बिजोग भएको समाचार आइरहेका छन् । कृषकले पाउनु पर्ने मल माथि नै राजनीति हुन्छ । ऋण तिर्न नसकेर आत्मदाह गरेका समाचार सुनेकै हो ।
जवान सिनेमामा देखाएजस्तै हाम्रोमा पनि विलासी सवारीसाधनको व्याजभन्दा किसानले चलाउने ट्र्याक्टरको ऋणमा व्याज बढी छ । हाम्रोमा अझै पनि दुर्गमका जनताले गतिलो उपचार त के ज्वरो आएको बेला सिटामोल समेत खान पाएका छैनन् ।
त्यसैले भारतीय सिनेमाको चर्चित कथा र नेपाली समाजको यथार्थ व्यथासँग मेल खान्छ । सिनेमाका हिरोले कानून हातमा लिंदै, सरकारलाई चुनौती दिंदै, ब्ल्याकमेल गर्दै प्रणालीमा सुधार गर्छन्, कृषकको समस्या सुल्झाई दिन्छन्, सरकारी अस्पताल आधुनिक प्रविधि सहित सुधार गर्दिनछन् । हरेक पटक जात, धर्म, लिङ्ग र पार्टी भन्दा माथि उठेर मात्र भोट हाल्नु र हालेपछि आफूले चुनेको सरकारलाई बारबार चोरऔंला तेर्साएर प्रश्न गर्नु भनि सिकाइन्छ ।
त्यसैले त ठूलो युवा जमात सिंहदरबार आगो लगाइदिन्छु भन्दा, चोर सरकार भन्दा, नयाँ पुरानो सबै नेता चोर भन्दा, अदालतको आदेश मान्दिन भन्दा पनि जय बालेन भनिरहेका छन् । किनकि समाजले बालेनलाई एक नेपाली जवानको रुपमा देखिरहेका छन् । सबैलाई चुनौती दिने कोही तानाशाह नै किन नहोस्, अब चाहियो भन्ने भाव पलाएको जस्तो देखिन्छ ।
मिटरब्याजी पीडित सडकमा, ठगिएका, लुटिएका पीडितहरु सडकमा, गौर घटना पीडित सडकमा, बैंक तथा सहकारी पीडित सडकमा । सडक पीडितहरुले घेरिएको छ तर न्याय कसैले महसुस गर्न पाएका छैनन् । ठुलालाई चैन, सानालाई मात्र ऐन भएको हुँदा दुर्गा प्रसाईं जस्ता मानिस आफूलाई जवानको पात्रमा उतार्ने कोसिस गर्छन्, हुँदाहुँदै मध्यदिउँसो नेतामाथि खुकुरी प्रहार हुन्छ ।
समाज कता जाँदैछ ? किन जाँदैछ ? के चाहन्छ ? नेता नेतृत्वले बेलैमा बुझ्नु पर्ने हुन्छ । नत्र हरेक नेपालीले जवानरुपी रुपधारण गर्ने छन् । ज्ञानेन्द्र शाही, बालेन साह, हर्क सम्पाङ राई, गोपी हमाल, रवि लामिछाने आदि जवान बन्ने कोसिस मै उदाएका हुन् । सक्कली जवान को-हो ? भन्ने कुरा त समयले देखाउला । जनताले जवान चुन्ने काम जारी राखेका छन् ।
युवाहरु देश छोड्न बाध्य बनाउने सरकारले चलाएको देशमा जवानको खोजि हुनु सोभाविक पनि हो । तर जवान बन्ने निहुँमा धेरैले धमिलो पानीमा माछा पनि मारे होलान् तर नेपाल आफैमा शान्तिपूणर् राष्ट्र भएको हुँदा सिनेमामा शाहारुख खान जस्तो जवान चाहिएन । हाम्रो समाजलाई समानता र समावेशीतामा आधारित कानून र नियम, मिचेर हैन, बचाएर समाज र प्रणाली सुधार्ने हैसियत राख्ने जवान चाहिएको हो । त्यो पात्र को हुन् बालेन ?
शाहरुखको जवानमा फिदा भएको नेपाली समाजले बालेनमा नयाँ जवान देख्नु स्वाभाविक हो । उनका कतिपय राम्रा कामले आशा जगाउने गरेको छ भने कतिपय व्यक्तित्वले निराशा दिने गरेको छ । यति हुँदा हुँदै पनि धेरैले नयाँ पिँढीबाट नयाँ मुलुकको कल्पना गरेको देखिन्छ ।
मुलुकमा पर्याप्त रोजगारीको अवसर नहुनु, सीप भएकाले काम गर्ने वातावरण नबन्नु । राज्यले प्रोत्साहन नगर्नु लगायतका कारण यूवाहरु विदेश पलायन हुँदैछन् । अनि अर्को कुरा लामो समयदेखि अलमलमा रहेको राजनीतिप्रति पनि नेपाली युवाको आशा हराएको छ । यस्तोमा नयाँ आशा देखाउने कोही जवानको आवश्यकता रहेको नेपाली युवाको बुझाई छ ।
भारतीय सिनेमा जवान सफल भएको छ । सामाजिक विसङ्गतिका विरुद्ध बनेको सिनेमाले बक्स अफिसमा राम्रो कलेक्सन गरेको समाचार आइरहेको छ । तर सिनेमाको त्यो आम्दानीले भारतको समस्या समाधान गर्ने होइन । सबैभन्दा ठुलो कुरो यो सिनेमा चेतनाको झिल्को बनेको छ । हो त्यही चेतनाको झिल्कोले प्रणालीका खराबी जलाउने काम नयाँ जवानले गर्नुपर्छ । जवानको जवान सन्देश यति नै हो ।
-अनिल रायामाझी