• असार २ २०८२, सोमबार

शंकर पोखरेलले चिनियाँ नेतासित भने-चुच्चे नक्साले समेटेको जमिन फिर्ता गर्न सहयोग गर्नुस्, हामी एक चीन नीतिमा दृढ छौं

भाद्र २५ २०८०, सोमबार

बेइजिङ । एमाले महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियनचाओबीच भेटवार्ता भएको छ । सोमबार बेइजिङमा महासचिव पोखरेल र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता भएको हो ।

दुई नेताबीचको भेटवार्तामा महासचिव पोखरेलले १८१६ को सुगौली सन्धीको मर्म अनुसार नेपालको नक्सा संसदबाट पास गरेर औपचारिक रुपमा जारी गरेको जानकारी गराएका छन् ।

चुच्चे नक्साका कारण दबाब र अप्ठ्याराहरुको पनि सामना गर्नु परेको भन्दै पोखरेलले जारी नक्साका सन्दर्भमा सोही अनुसार आफूहरुले चीनको पनि साथ चाहेको बताए ।

‘हामी चीन सरकार र चिनियाँ कम्युिनष्ट पार्टीको साथ चाहन्छौं । हामी एक चीनको पक्षमा दृढ छौं । नेपालको भूमिबाट चीन विरोधी गतिबिधि गर्ने कामलाई अस्वीकार गर्छौ’, महासचिव पोखरेलको भनाइ छ । त्यसक्रममा महासचिव पोखरेलले नेकपा (एमाले) असंग्लन परराष्ट्र नीति र पञ्चशीलको आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध र सहकार्यलाई कायम राख्न चाहेको समेत बताएका छन् ।

त्यसक्रममा उनल पूर्व प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण र चिनियाँ राष्ट्रपति तथा सीपीसीका महासचिव सी जिनपिङको नेपाल भ्रमणका क्रममा भएका सहमति, सम्झौता छिटोभन्दा छिटो कार्यान्वयनको पक्षमा रहेको समेत जानकारी गराएका छन् । जवाफमा विदेश विभाग प्रमुख लिउ जियनचाआले एक चीन नीतिमा दृढ रहेकोमा एमाललाई धन्यवाद दिएका छन् । ‘नेकपा (एमाले) र चिनियाँ कम्युनिष्ट पार्टीबीचको एकता घनिष्ठ र समुधुर छ । यसलाई हामी नयाँ उचाईमा लैजान चाहन्छौं’, लिउको भनाइ छ ।

त्यसक्रममा लिउले चीन र नेपालबीचको घनिष्ठ सम्बन्ध नचाहने शक्तिहरु पनि रहेको भन्दै अध्यक्ष ओली र सीबीच भएका सहमति सहमति कार्यान्वयन होस् भन्नेमा आफूहरु दृढ रहेको बताए ।

‘ती सहमति, सम्झौताहरु कार्यान्वयन छिटो गराउन हाम्रो तर्फबाट अधिकतम प्रयास हुनेछ’, लिउको भनाइ उधृत गर्दै महासचिव पोखरेलसँगै चीन भ्रमणमा रहेका एमाले निकट पत्रकार राशेज राईले जनाएका छन् ।