• मंसिर १२ २०८१, बुधबार

चुम्बन प्रकरणः स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइसले दिए राजीनामा

भाद्र २५ २०८०, सोमबार

एजेन्सी । स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसले राजीनामा दिएका छन्।

फरवार्ड जेनी हर्मोसोलाई चुम्बन गरेपछि विवादमा तानिएका स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसले राजीनामा दिएका छन्।

स्पेनले पहिलो पटक फिफा महिला विश्वकपको उपाधि उचालेपछि पुरस्कार वितरण समारोहमा अध्यक्ष रुबियालेसले फरवार्ड जेनी हर्मोसोलाई चुम्बन गरेपछि उनी विवादमा तानिएका थिए। ३३ वर्षीया हर्मोसोले रुबियालेसले गरेको चुम्बन सहमतीमा नभएको भन्दै मगंलबार उजुरी दिएकी थिइन्। रुबियालेसले महासंघका कार्यवाहक अध्यक्ष पेड्रो रोचालाई राजिनामा बुझाएका छन्।

४६ वर्षीय रुबियालेसले युइएफएको कार्यकारी समितिको उपाध्यक्ष पदबाट पनि राजिनामा दिएका हुन्। चुम्बनको नतिजाले पछिल्ला केही साता स्पेनी फुटबललाई घेरेको छ र स्पेनको जितलाई छायामा पारेको छ।

यसअघि नै रुबियालेसलाई राजीनामा दिन बारम्बार आग्रह गरेपनि उनले वेवास्ता गर्दै आएका थिए। रुबियालेसले चुम्बन आपसी सहमतीमा भएको दाबी गर्दै आएका थिए। रुबियालेसलाई यसअघि नै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अस्थायी रुपमा निलम्बन गरेको थियो।