• मंसिर ११ २०८१, मंगलवार

जी-२० शिखर सम्मेलनबाट मोदीले विश्वमाझ के सन्देश दिन खोजे ?

भाद्र २६ २०८०, मंगलवार

भदौ २३ अर्थात सेप्टेम्बर ९ मा भारतको आयोजनामा जी-२० शिखर सम्मेलन भयाे । विश्वका १९ वटा सबैभन्दा ठूला अर्थतन्त्र र युरोपेली संघ मिलेर बनेको जी-२० को शिखर सम्मेलन गर्न पाउँदा भारत जति खुसी छ त्यो भन्दा उसले दिएको सन्देशको पनि उत्तिकै महत्व छ ।

भारतले जी-२० शिखर समेमलनबाट खुसी मात्रै साटेन आफ्नो एजेण्डा पनि स्थापित गर्न खोजेको छ । पहिलो त अंग्रेजहरुले भन्दै आएको इन्डियाको नाम परिवर्तन गर्दै आफ्नो देश भारत भएको कुरा स्थापित गर्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शिखर सम्मेलनमा आफ्नो नेम प्लेटमा भारत भनेर लेखाए । किन कि भारत इन्डिया नाम ब्रिटिस साम्राज्यले राखेको नाम भएको र सोही नामबाट विश्वका धेरैले चिनेकाले नाम परिवर्तन गर्न चाहन्छ ।

भारत नामले आफ्नो सांस्कृतिक विशेषता र अपनत्व होस् भन्ने मोदी चाहन्छन् । त्यसकै प्रतिकात्मक रुपमा शिखर सम्मेलनमा मोदीले इन्डिया होइन भारत राखेर विश्वलाई सन्देश दिन खोजे । इन्डिया नामसँग ब्रिटिसको उपनिवेश झल्कने भएकाले पनि मोदी भारत नाम राख्न चाहन्थे । सन् १९४७ मा ब्रिटिसको उपनिवेशबाट स्वतन्त्र भए पनि नामकै कारण अपेहलना जस्तो महसुस भएको मोदीको बुझाइ थियो । शिखर सम्मेलनबाट विश्वका शक्तिशाली राष्ट्रहरु सामु उनले भारत नाम प्रस्तुत गरे ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेमप्लेटमा भारत लेखेको विषयलाई भारतीय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि प्राथमिकताका साथ प्रकाशित गरेका छन् । १ दशमलव ४ अर्ब जनसंख्या भएको यो मुलुकलाई भारत र इन्डिया दुवै नामले चिनिन्छ । जसका २० भन्दा बढी औपचारिक भाषा छन् । पासपोर्टमा समेत दुवै नाम प्रयोग गरिन्छ । त्यति मात्रै होइन रात्री भोजका लागि विश्वका प्रमुखलाई बोलाइएको निमन्त्रणापत्रमा पनि इन्डियाको सट्टामा भारत भनेर लेखिएको छ । यसको अर्थ हाम्रो देशको संस्कृत र हिन्दी नाम भारत हो भन्ने सन्देश विश्वलाई दिन खोजेका छन् । भारतले जी-२० को क्रमानुगत अध्यक्षता इन्डोनेसियाबाट पाएको हो । दुई दिने जी-२० शिखर सम्मेलनको कार्यक्रम समापनसँगै बाज्रिलले सन् २०२४ को जी-२० आयोजना गर्न अध्यक्षमा पाउनेछ । त्यसपछि दक्षिण अफ्रिकामा सर्नेछ ।

दोस्रो पक्ष भने मोदीले हिन्दू धर्म र आफ्नै पार्टी बीजेपीलाई ब्राण्ड बनाउन खोजेको देखिन्छ । विश्वमञ्चमा मोदीले यसरी प्रस्तुत गरेकी हिन्दी भाषा र हिन्दु धर्म एक अर्काको परिपुरक हो भन्ने भान बनाउन भ्याए । उनले अबको राजनीतिक मुद्दा का लागि पनि शिखर सम्मेलनबाट प्रचारबाजीको काम गरे । भारतको लोगोको नारामा वसुधैव कुटुम्बकम् नामकको वैदिक नारा दिएको छ । यस्तै उसले ‘इन्डिया’मात्रै प्रयोग नगरेर ‘भारत’ शब्दप्रयोग गरेको छ ।

बीजेपीको हिन्दीमोहमा धेरैले साथ पनि दिएका छन् । जस्तो सन् २०२२ नोभेम्बर १६ मा बेलायती प्रधानमन्त्री ऋषि सुनकले मोदीसँग भेट भएको तस्बिर सार्वजनिक गर्दै क्याप्सन लेखेका थिए, ‘एक मजबुत दोस्ती ।’ पछिल्लो समयमा अमेरिकाको ह्वाइट हाउसमा बोल्दा मोदीले हिन्दी प्रयोग गरे । सन् २०१४ मा पहिलो पटक संयुक्त राष्ट्रसंघको महासभामा अंग्रेजी बोलेका मोदीले त्यसपछिका हरेक सम्बोधन हिन्दीमा गरेका छन् । बीजेपी र मोदीको हिन्दी र हिन्दूत्वमोहको घरमै विश्वस्तरीय प्रदर्शन गर्ने अवसर जी-२० ले दिएको छ ।

त्यस्तै अर्को पक्ष भनेको काश्मीरलाई सामान्यकरण गर्ने प्रयास गरे । सन् २०१९ अगस्टबाट केन्द्र शासनमा आएको काश्मीरमा सन् २०२३ मे मा जी-२० बैठक बसेको थियो । विश्व मिडियामा बैठक विवादित भएका समाचारहरु आएका थिए । यो पटक विवादित भूमिका विषयमा जी-२० शिखर सम्मेलनमा विश्वका शक्तिशाली राष्ट्रलाई मुख खोल्ने वातावरण नै दिएनन् ।

अहिले अमेरिका, चीन, जापान र जर्मनीपछि भारत विश्वको पाँचौं ठूलो अर्थतन्त्र भएको मुलुकको रुपमा चिनिन्छ । अर्थतन्त्रमा एक पछि अर्को फड्को मार्दै गइरहेको अबस्थामा भारतले जी-२० शिखर सम्मेलन गर्ने अवसर पाएको हो । पर्जेजिङ पावर प्यारिटीको आधारमा हेर्ने हो भने भारत अहिले विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुकमा पर्छ । भर्खरै चन्द्रमामा अन्तरिक्ष यानको सफल परीक्षण गरेर भारतले आफ्नो उपस्थिती फराकिलो बनाइरहेको छ । उसले आफ्नो मुलुकमा मात्रै होइन देशबाहिर पनि उपस्थिती बलियो बनाउँदै लगिरहेको छ । भारतीय मूलको व्यक्तिहरु विश्वको शक्तिशाली राष्ट्रहरुमा राजनीतिक शक्तिको रुपमा उदाइरहेका छन् । जस्तो उदाहरणका लागि बेलायती प्रधानमन्त्री ऋषि सुनक, अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस भारतीय मूलकै हुन् । अहिले रिपब्लिकन पार्टीबाट राष्ट्रपतिका दाबेदार विवेक रामास्वामी पनि भारतीय मूलकै हुन् । आयरल्याण्डका प्रधानमन्त्री लिओ इरिक वारादकार, पोर्चुगलका एन्टोनियो कोस्टा, मौरिससका प्रमिण जगनाथ भारतीय मूलकै छन् ।

विश्वराजनीतिलाई प्रभाव पार्ने ‘जी–२०’ शिखर सम्मेलन
‘जी–२०’ शिखर सम्मेलन विश्व राजनीतिलाई प्रभाव पार्ने र विश्वको शीर्ष नेताबिच हुने भेटघाटले भावी विश्वराजनीतिलाई प्रभाव त पार्छ नै, ‘साइडलाइन’मा हुने शीर्षस्थ नेताको भेटघाट पनि अर्थपूर्ण हुन्छ । चीन र रुसका राष्ट्रप्रमुखबाहेक विश्वका १८ वटा देशका प्रमुख भारतको नयाँ दिल्लीमा शिखर सम्मेलनमा जुटेका छन् ।

विश्वको सबैभन्दा ठुलो जमघटमा जलवायु परिवर्तन, विकास, वैश्विक सुशासन, हरित प्रविधिलगायतका विषयमा छलफल हुने, युक्रेन युद्ध तथा विश्वव्यापी सुरक्षाका विषयमा पनि चर्चा गरिने भएको छ । तर, युक्रेन युद्धको विषलाई लिएर चीन र रुसले भने असहमति राखेको छन् । चीनबाट राष्ट्रपतिको प्रतिनिधित्वका रूपमा आएका प्रधानमन्त्री र रुसले आफ्नो प्रतिनिधिका रूपमा विदेशमन्त्री सेर्गेई लाभरोभलाई पठाएको छ । यद्यपि चिनियाँ राष्ट्रपति ‘जी–२०’ शिखर सम्मेलनमा भाग लिन किन आएनन् भन्ने खुलाइएको छैन ।

‘जी–२०’ मा १९ देश र युरोपेली युनियन सदस्य छन् । सदस्य देशहरू हुन् ः अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, जापान, दक्षिण कोरिया, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, टर्की, बेलायत र संयुक्त राज्य अमेरिका छन् । यो समूहले विश्वको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को करिब ८५ प्रतिशत ओगट्छ । त्यस्तै, विश्व व्यापारको ७५ प्रतिशत र विश्वको कुल जनसंख्याको दुईतिहाइ यी देशले समेट्छ ।

‘जी–२०’ मूलतः अन्तर्राष्ट्रिय आर्थिक सहकार्यका लागि स्थापना गरिएको मञ्च हो, जसले संसारका सबैजसो प्रमुख अन्तर्राष्ट्रिय आर्थिक विषयको संरचना निर्धारण गर्छ । वैश्विक आर्थिक स्थिरता र दिगो विकासका लागि सदस्य राष्ट्रबिच नीतिगत समन्वय गर्ने, भविष्यमा हुन सक्ने वित्तीय संकटको जोखिम न्यूनीकरण गर्न वित्तीय नियमन गर्ने र नयाँ अन्तर्राष्ट्रिय वित्तीय संरचना निर्माण गर्ने उद्देश्यले यो संस्था स्थापना भएको हो ।