• असार २ २०८२, सोमबार

प्रधानमन्त्री दाहाल अराजक भइसके : शेखर कोइराला

भाद्र २३ २०८०, शनिबार

नारायणगढ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल अराजक भइसकेको बताएका छन् । कांग्रेसको चितवन सम्मेलनमा शनिबार बोल्दै उनले प्रधानमन्त्री दाहालले जातीय हिंसा भड्काउने हिसाबले अभिव्यक्ति दिँदै हिँडेको बताए ।

‘प्रधानमन्त्री प्रचण्डजीले टन्न भोट दिनुस् । जातीय आधारमा प्रदेश बनाइदिन्छौं भन्दै हिँड्नुभएको छ । प्रधानमन्त्रीको हैसियतले त्यस्तो बोल्न मिल्छ ?,’ उनले प्रश्न गरे, ‘धरानमा जातीय हिंसा भड्किने खतरा हामीले भर्खरै देख्यौं । प्रधानमन्त्रीले अराजक शैलीमा अभिव्यक्ति दिनु भनेको हिंसालाई प्रश्रय गर्नु हो ।’

प्रधानमन्त्री दाहालले धरानमा भएको घटनाबारे विस्तृत बुझ्ने बताए पनि हालसम्म त्यसबारे केही कुरा सार्वजनिक नभएको बताए । उनले काठमाडौंका मेयर बालेन्द्र साहले सिंहदरवार जलाउने चेतावनी दिनु पनि अराजकताको हद भएको बताए । ‘कोसैले सिंहदरवार जलाउँछु भन्नु, पहिचानमा आधारित प्रदेश बनाइदिन्छु भन्नु अराजकता भन्दा कम होइन । यस्ता कुराबाट बेलैमा सचेत हुनुपर्छ,’ उनले भने ।

प्रधानमन्त्री दाहालले २९औं आदिवासी दिवसका दिन ०८४ को निर्वाचनमा पहिचान पक्षधरलाई बहुमत दिए प्रदेशका नाम संशोधन गर्ने बताएका थिए ।

‘२०८४ मा पहिचान पक्षधरलाई टन्न मत हालिदिनुभयो भने सदनैबाट त्यही पारित हुन्छ । अहिलेको घटनाक्रमले एउटा नयाँ चेतना हामी सबैमा पैदा भएको छ । त्यो चेतनाको बलमा पहिचानसहितका प्रदेशको नामकरण गर्न सकिनेछ । त्यसका निम्ति पनि गम्भीर रूपमा विचार गर्न तपाईंहरूसँग अपिल गर्न चाहन्छु,’ प्रधानमन्त्री दाहालले भनेका थिए ।

त्यस्तै नेता कोइरालाले अब नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बनाउने बेला आएको बताए । संसदीय प्रणालीमा प्रधानमन्त्रीको मुख्य भूमिका हुने भन्दै मन्त्रीले मात्र केही नहुने बताए ।

‘हामीसँग ९० सिट छ, ९ जना मन्त्री छन् । कसैलाई लागेको होला मन्त्रीले काम गरेका छन् । कसैलाई लागेको होला केही काम गरेका छैनन् तर मलाई के लाग्छ भने संसदीय प्रणालीमा प्रधानमन्त्रीबाहेक अरु मन्त्रीको कुनै रोल हुँदैन,’ उनले भने ।