• असार २ २०८२, सोमबार

अज्ञात समूहले प्रहरीमाथि नै आक्रमण गरी हतियार लुट्यो

भाद्र २३ २०८०, शनिबार

ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गरेर सुनसरीमा अज्ञात समूहले हतियार लुटेको छ । यो घटना शुक्रबार मध्यराति भएको हो । प्रहरीका अनुसार सुनसरीको बर्जु गाउँपालिका-१ शुक्रबारेमा खटिएका दुई जना प्रहरीमाथि आक्रमण गरेर हतियार लुटिएको हो ।

सादा पोशाकमा खटिएका प्रहरीबाट आक्रमणकारीले ठूलो चाइनिज पेस्तोल, एउटा म्यागजिन र सात राउण्ड गोली लुटेको प्रहरीले जानकारी दिएको छ । सुनसरीको सीमावर्ती क्षेत्रमा हतियार देखाएर लुटपाट गर्ने समूह सक्रिय रहेको सूचनाका आधारमा त्यस सम्बन्धित सूचना संकलन गर्न प्रहरी जवान बिमन परियार र प्रेम चौधरीलाई प्रहरीले खटाएको थियो । उनीहरू इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएका थिए ।

सादा पोसाकमा खटाइएका परियार र चौधरी पुग्नासाथ चार जनाको संख्यामा रहेको समूहले आक्रमण गरेर हतियार लुटेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए । उनका अनुसार पछाडिबाट टाउकोमा चिर्पट प्रहार भएपछि केहीबेर दुई पक्षबीच घम्साघम्सीसमेत भएको थियो तर, आक्रमणकारीको समूह ठूलो र प्रहरी दुई जना मात्रै भएकाले त्यो समूहसँग भिड्नसक्ने अवस्था नभएको एसपी रेग्मीले बताए ।

आक्रमणबाट प्रहरी जवान परियारको टाउकोमा चोट लागेको छ । अर्का प्रहरी पनि घाइते छन् । आक्रमणकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।