• असार २ २०८२, सोमबार

राष्ट्र संघका महासचिव भन्छन्-विश्व तिब्र विभाजन र बढ्दो द्वन्द्वको जोखिमतिर गइरहेको छ

भाद्र २२ २०८०, शुक्रबार

नयाँदिल्ली । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले जी-२० नेताहरूको शिखर सम्मेलनको पूर्वसन्ध्यामा विश्व राष्ट्रहरूबीचको विभाजन बढ्दै जाँदा विश्वले द्वन्द्वको जोखिम सामना गरिरहेको बताएका छन् । गुटेर्रेसले नयाँदिल्लीमा पत्रकारसँग भने, ‘यदि हामी वास्तवमै एक वैश्विक परिवार हौँ भने आज हामी एक निष्क्रिय परिवारजस्तो किन देखिन्छौं ?’

‘विभाजन बढ्दै गएको छ । तनाव बढिरहेको छ र, विश्वास कम हुँदै गएको छ । जसले एकसाथ विखण्डनको खतराहुँदै अन्ततः टकराव बढाउँछ ।

विश्वको कूल ग्रार्हस्थ्य उत्पादनको लगभग ८५ प्रतिशत र विश्व जनसङ्ख्याको दुईतिहाइ हिस्सा ओगटेको जी-२० प्रमुख अर्थ व्यवस्थाहरूको समूहमा हाल १९ देशहरू र युरोपेली सङ्घ छन् । तर, युक्रेनमा रुसको युद्ध र जलवायु परिवर्तनसँग जुध्न उदीयमान राष्ट्रहरूलाई कसरी सहयोग गर्ने भन्ने विषयमा गहिरो असहमतिले नयाँ दिल्लीमा हुने दुईदिने बैठकमा सम्झौताहरूमा बाधा पुग्ने अपेक्षा गरिएको छ ।
गुटेर्रेसले भने, ‘यो विभाजन सबैभन्दा राम्रो समयमा गहिरो चिन्ताको विषय हुनेछ । तर, हाम्रो समयमा यसले विपत्ति निम्त्याउँछ ।’

उनले प्रसङ्गलाई जोड्दै भने, ‘हाम्रो विश्व सङ्क्रमणकालको कठिन घडीमा छ । भविष्य बहुध्रुवीय छ तर हाम्रा बहुपक्षीय संस्थाहरूले बितेको युगलाई प्रतिबिम्बित गर्छन् ।’

‘विश्वव्यापी वित्तीय संरचना पुरानो, निष्क्रिय र अनुचित छ । यसका लागि गहिरो, संरचनागत सुधारको आवश्यकता छ । र, संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषदको बारेमा पनि यही भन्न सकिन्छ ।