• आश्विन १२ २०८१, शनिबार

विदेश भ्रमणमा छुट्टाइएको बजेट भन्दा पचास प्रतिशत बढी खर्च

भाद्र २२ २०८०, शुक्रबार

काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा २ हजार ३४० जना सरकारी कर्मचारी तथा मन्त्रीले विदेश भ्रमण जादाँ राज्यकोषको २ अर्ब ६९ करोड रुपैयाँ सकिएको छ । गत आर्थिक वर्षमा भ्रमणका लागि १ अर्ब ७७ करोड ५२ लाख रुपैयाँ छ्ट्याइएकोमा सो भन्दा बढी खर्च भएको देखिएको छ ।

अर्थ मन्त्रालयले दिएको रिपोर्ट अनुसार भ्रमण खर्चका लागि छुट्टाइएको रकम भन्दा झण्डै ५० प्रतिशत बढी भ्रमण खर्चमा सकिएको छ । सरकारले हरेक वर्ष विदेश भ्रमण खर्चका लागि छुट्याउने गर्छ तर यो पटक भ्रमण शिर्षकमा छुट्याइएको भन्दा बढी रकम खर्च हुन गएको छ ।

विदेश भ्रमणमा सबैभन्दा धेरै खर्च गर्नमा राष्ट्रियसभा अध्यक्ष
राष्ट्रिय सभा अध्यक्षले २०७९ देखि २०८० सम्म विभिन्न देशको भ्रमण गर्दा करोडौ रुपैयाँ खर्च भएको देखिन्छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा १० सदस्यीय प्रतिनिधिमण्डलले चीनको भ्रमण गर्दा २ लाख ६४ हजार ८ हजार रुपैयाँ खर्च भएको थियो । त्यस्तै उनले जापानको भ्रमण गर्दा ७ लाख ४५ हजार ५९ रुपैयाँ खर्च भएको थियो ।

त्यस्तै गत नोभेम्बरमा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले कम्बोडिया भ्रमण गर्दा गर्दा ३४ लाख २३ हजार २५ रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयको तथ्यांकले देखाउँछ । तिमिल्सिनाको नेतृत्वमा ९ सदस्यीय प्रतिनिधिमण्डलले रुवान्डा र प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाको नेतृत्वमा चार सदस्यीय प्रतिनिधिमण्डलले पाकिस्तानको भ्रमण गर्दा ७१ लाख ३४ हजार १२७ रुपैयाँ खर्च भएको थियो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गत अप्रिल १९ देखि २४ सम्म रुस भ्रमणमा गएका थिए । त्यति बेला २० लाखभन्दा धेरै खर्च गरेका थिए ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गत मार्च ११ देखि १५ सम्म बहराइन, दिगो विकास तथा सु्शासन समितिका सभापति प्रकाश पन्थले गत मार्च २७ देखि ३० सम्म श्रीलंका र गत प्रेब्रुअरी १६ देखि २२ सम्म यूएईको भ्रमण गर्दा ८६ लाख ४ हजार ४९ रुपैयाँ खर्च गरेका थिए ।

क्यानाडा भ्यानकुवरमा जादाँ १ करोड ५ लाख खर्च
क्यानडाको भ्यानकुवरमा भएको कार्यक्रममा सहभागी हुँदा मात्रै राज्यकोषको ७४ लाख रुपैयाँ खर्च भएको छ । क्यानडाको भ्यानकुवरमा २०८० असार २० गतेदेखि साउन ७ गतेसम्म आयोजित ‘एपीजी एनुअल मिटिङ एण्ड टेक्निकल असिस्टेन्स एण्ड ट्रेनिङ फोरम’ कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गएको टोलीले २१ लाख रुपैयाँ खर्च गरेको थियो ।

त्यस्तै सोही कार्यक्रममा सहभागी भएको महान्यायाधिवक्ताको कार्यालयको टोलीले १४ लाख रुपैयाँ खर्च गरेको थियो । त्यस्तै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले २१ लाख रुपैयाँ, प्रहरी प्रधान कार्यालयको टोलीले १२ लाख रुपैयाँ र फैसला कार्यन्वयन निर्देशनालयको टोलीले ६ लाख रुपैयाँ खर्च गरेको अर्थ मन्त्रालयले जानकारी दिएको छ । सोही कार्यक्रममा तत्कालीन सचिव धनराज ज्ञवालीसहित चार जनाको टोली सहभागी हुँदा ३१ लाख रुपैयाँ खर्च भएको थियो ।

प्रधानमन्त्री नेतृत्वको भारत भ्रमण खर्च ९५ लाख २७ हजार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८० जेठ १७ देखि २० गतेसम्म भारतको भ्रमण गर्दा नेपाली प्रतिनिधिमण्डलको खर्च ९५ लाख २७ हजार ३३२ रुपैयाँ रहेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको टोली मलेसियामा आयोजित एक कार्यक्रममा सहभागी हुँदा २६ लाख ६८ हजार रुपैयाँ खर्च भएको अर्थले जनाएको छ ।

अमेरिका भ्रमणमा ८६ लाख १४ हजार ७ सय ७४ रुपैयाँ खर्च
अमेरिका भ्रमणका लागि मात्रै सरकारले यो एक वर्षको अबधिमा ८६ लाख १४ हजार ७ सय ७४ रुपैयाँ खर्च गरेको देखिएको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाको नेतृत्वमा राष्ट्रसंघको एक कार्यक्रममा सहभागी हुन न्युयोर्क गएको टोलीले १७ लाख ९९ हजार २६८ रुपैयाँ खर्च गरेको थियो ।

संयुक्त राष्ट्रसंघको ७७ औं महासभामा भाग लिन न्युयोर्क गएको नेपाली प्रतिनिधिमण्डलको खर्च २८ लाख ९६ हजार रुपैयाँ रहेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तत्कालीन सचिव सुमनराज अर्यालले राष्ट्रसंघीय महिला स्थितिसम्बन्धी ६७ औं सम्मेलनमा सहभागी हुँदा ६ लाख ९४ हजार रुपैयाँ खर्च भएको थियो ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका तत्कालीन सचिव धनराज ज्ञवालीको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल २०७९ फागुन ८ देखि १९ गतेसम्म न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा आयोजना भएको बीबीएनजे अन्तर्गत आईजीसी–भीमा सहभागी हुँदा २४ लाख ५४ हजार ७५१ रुपैयाँ खर्च भएको थियो । गत नोभेम्बरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयको तर्फबाट राष्ट्रसंघको कार्यक्रममा सचिव धनराज ज्ञवाली सहभागी हुन जाँदा ७ लाख ७० हजार ७५५ रुपैयाँ खर्च भएको थियो ।

भारत भ्रमणमा कर्मचारीबाट ६ लाख १६ हजार खर्च
कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटालको नेतृत्वमा एक टोलीले गत सेप्टेम्बर २६ देखि २८ सम्म भारतको भ्रमण गर्दा ३ लाख ८५ हजार ३९९ रुपैयाँ खर्च भएको थियो ।

भारतको निर्वाचन आयोगले २०७९ कात्तिक १४ देखि १६ गतेसम्म आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन जाँदा निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र उपसचिव कमल भट्टराईले १ लाख ४ हजार खर्च गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तत्कालीन सचिव धनराज ज्ञवालीले गत नोभेम्बरमा भारतको भ्रमण गर्दा १ लाख २६ हजार ७५६ रुपैयाँ खर्च भएको थियो ।

पूर्व मन्त्री र पूर्वसभामुखकोचीन भ्रमणमा खर्च ४२ लाख ४७ हजार
तत्कालीन परराष्ट्र मन्त्री डा. नारायण खड्काले चीनको भ्रमण गर्दा १ लाख ३४ हजार ६८७ रुपैयाँ खर्च भएको थियो ।

प्रतिनिधि सभाका तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाले चीनको भ्रमण गर्दा ४१ लाख १३ हजार रुपैयाँ खर्च गरे ।

पूर्व राष्ट्रपति भण्डारीको भ्रमण खर्च १ करोड ६२ लाख

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ कात्तिक २१ देखि २८ गतेसम्म आइसल्याण्डको भ्रमण गर्दा १ करोड ६२ लाख ५ हजार ३६४ रुपैयाँ खर्च भएको थियो ।

कसले कति खर्च गरे
अर्थ मन्त्रालयले २०८० जेठ महिनामा भ्रमण खर्चको लागि भन्दै सर्वोच्च अदालतलाई १५ लाख रुपैयाँ रकमान्तर निकासा गरेको थियो । यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक टोलीले २०७९ भदौ २० देखि २४ गतेसम्म भुटानको भ्रमण गर्दा ८ लाख ३१ हजार ८२ रुपैयाँ खर्च गरेका थिए । राष्ट्रिय योजना आयोगको एक टोली इकोसेकको कार्यक्रममा सहभागी हुँदा १९ लाख ८८ हजार १२४ रुपैयाँ खर्च गरेको थियो ।

२०८० वैशाख ४ देखि १५ सम्म संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा भएको ‘यूएन–पीएफ ११’ कार्यक्रममा सहभागी भएका तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र एक जना पदाधिकारीको भ्रमण खर्च १९ लाख ४५ हजार रुपैयाँ खर्च भएको छ । सोही कार्यक्रममा सहभागी भएका आदिबासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले ५ लाख ५२ हजार ४८८ रुपैयाँ खर्च गरे ।