काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो चीन भ्रमणमा पेट्रोलियम पदार्थ र रेल नेपालमा ल्याउने कुरामा विशेष पहल गर्नुपर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले भारततिर संकेत गर्दै नाकाबन्दीको मारबाट राष्ट्रलाई मुक्त गराउन पनि प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमणमा पेट्रोलियम पदार्थ र रेल ल्याउने कुरालाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताएका हुन् ।
सांसद पन्तले जलाशययुक्त विद्युत् आयोजनामा लगानी भित्र्याउन पनि चीनसँग आग्रह गर्न प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिए । उनले ट्रान्समिसन लाइन निर्माणको काममा पनि जोड दिन सरकारलाई सचेत गराए ।
नेपाल अझै पनि विद्युत्मा आत्मनिर्भर नभएको उल्लेख गर्दै सांसद पन्तले त्यसमा आत्मनिर्भर बनाउन सरकारले जलाशययुक्त आयोजनाहरूको निर्माणमा ध्यान दिनुपर्ने बताए ।