• असार २ २०८२, सोमबार

मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा काठमाडौंबाट दुईजना पक्राउ

भाद्र १९ २०८०, मंगलवार

काठमाडौं । मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा ट्राफिक प्रहरीले काठमाडौंबाट दुईजनालाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई मंगलबार काठमाडौं महानगरपालिका-१६ बालाजुस्थित चप्पलकारखानाबाट नियन्त्रणमा लिइएको हो ।

ट्राफिक प्रहरीले नुवाकोटको सूर्यगढी गाउँपालिका-२ का ४५ वर्षीय दीपेन्द्र तामाङ र नुवाकोटकै लिखु गाउँपालिका-२ का २८ वर्षीय सन्तोष घलेलाई नियन्त्रणमा लिएको हो ।

गत जेठ २ गते काठमाडौंको मनमैजुबाट वाग्मती प्रदेश ०२-०२७ प ७५ ८० नम्बरको र गत जेठ २९ गते काठमाडौंकै टोखा नगरपालिका-१ झोरबाट वाग्मती प्रदेश ०२-०२२ प ४४ ५४ नम्बरको मोटरसाइकल हराएको निवेदन परेको थियो । मोटरसाइकल खोज्दै जाने क्रममा वास्तविक नम्बर परिवर्तन गरी प्रदेश ३-०२-००७ प ३३ ९९ नम्बर राखी चलाइरहेको अवस्थामा तामाङलाई र वाग्मती प्रदेश ०२-०१८ प ०००८ नम्बर राखी चलाइरहेको अवस्थामा घलेलाई आज पक्राउ गरिएको हो ।

नियन्त्रणमा आएका तामाङलाई प्रहरी वृत्त बालाजु र घलेलाई प्रहरी वृत्त महाराजगञ्जमा थप अनुसन्धान तथा कारबाहीका लागि पठाइएको छ ।