• मंसिर ११ २०८१, मंगलवार

सूर्य दर्शनका लागि आदित्य यात्रा

भाद्र १९ २०८०, मंगलवार

भारतीय अन्तरिक्ष एजेन्सी (इशरो) ले प्रक्षेपण गरेको अन्तरिक्ष यान आदित्य १ सय ३५ दिनको कठिन लामो यात्रापछि ल्यागरेन्ज पुगिसक्नेछ । शनिबार स्थानीय समय अनुसार ११ बजेर ५० मिनेट जाँदा भारतको श्रीहरीकोटाबाट आदित्य एल वान नामक अन्तरिक्षयान प्रक्षेपण गरिएको हो ।

केही दिनअघि मात्रै चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्षयान अवतरण गराएर इतिहास रचेको भारतले सूर्यको अनुसन्धानका लागि यो पहिलो अन्तरिक्षयान प्रक्षेपण गरिसकेको छ ।

शनिबार ११ बजेर ५० मिनेट जाँदा भारतको श्रीहरीकोटाबाट आदित्य–एल–वान नामक अन्तरिक्षयान प्रक्षेपण गरिएको हो । यो यानले पृथ्वीबाट १५ लाख किलोमिटर टाढा पुगेपछि ल्यागरेन्जबाट सूर्यको अध्ययन थाल्नेछ ।

ल्यागरेन्ज पुग्न आदित्यलाई १२० दिन अर्थात् ४ महिना लाग्नेछ । ल्यागरेन्ज रहेको स्थान सूर्य र पृथ्वीबीचको कुल दूरीको एक प्रतिशत दुरीमा रहेको छ । यो भनेको सूर्य र पृथ्वीको बीचको कूल दुरीको ९९ प्रतिशत दुरी सूयैतिरै बाँकी हुनेछ ।

युरोपेली अन्तरिक्ष एजेन्सीले परिभाषा गरेअनुसार ल्यागरेन्ज विन्दु भनेको पृथ्वी र सूर्यको गुरुत्वाकर्षण बलले एक अर्कालाई निस्तेज पार्ने क्षेत्र हो । अर्थात् त्यहाँ सूर्य र पृथ्वीको गुरूत्वाकर्षण निस्तेज हुन्छ । त्यहाँ अन्तरीक्ष यानहरु खाली आकाशमा अडिएर रहन्छन् ।

आशा गरिएको छ कि आदित्य–एल–वान उक्त ल्यागरेन्जमा पुगेपछि सूर्यलाई परिक्रमा गर्नेछ । यहाँ गुरूत्वाकर्षण शक्ति कम हुँदा आदित्यले निकै कम इन्धनमा परिक्रमा गर्नेछ । प्रक्षेपणसँगै आदित्यको सूर्य यात्रा सफलतापूर्वक अघि बढिरहेको छ ।

सूर्य मिसनअन्तर्गत यो यात्रामा आदित्यको आर्थिक व्यवस्थापनका लागि भारतीय अन्तरिक्ष एजेन्सी (इशरो) ले ३ अर्ब ७८ करोड भारतीय रुपैयाँ छुट्याएको छ ।