काठामडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’विरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतमा आज (मंगलबार) पनि सुनुवाइ हुने भएको छ। नेकपा एमालेले दाय गरेको रिटमाथि सोमबारदेखि सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ सुरु भएको थियो।
प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्रीलाई विश्वासको मत दिएको र उक्त कार्य संविधान विपरीत रहेको दाबी गर्दै नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
रिटमाथि सोमबार भएको सुनुवाइमा निवेदक पक्षका कानुन व्यवसायीले बहस गरेका थिए। मंगलबार सरकारी वकिल र मुख्यमन्त्री थापाका कानुन व्यवसायीको बहस हुनेछ। विपक्षीको बहस सकिएपछि निवेदक पक्षका कानुन व्यवसायीले जवाफी बहस गर्नेछन्। जवाफी बहस पनि सकिए सम्भवत: मंगलबार नै अदालतले रिटमाथि फैसला सुनाउनेछ।
सोमबार सर्वोच्च अदालतका न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको इजलासमा बहस नसकिएपछि रिटलाई हेर्दाहेर्दैमा राखिएको छ।
कोशी सरकारविरुद्ध एमाले संसदीय दलका नेता कार्कीले भदौ ६ गते सर्वोच्चमा रिट दिएका थिए। उनले प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री थापा, प्रदेश सभा सचिवालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।