काठमाडौं । सांसद अर्जुननरसिंह केसीले भ्रष्टाचारका विषयमा छानबिन गरिरहेका प्रहरी अधिकारीको सरुवा गरेर भ्रष्टाचारका फाइल खोलेर टुङ्गोमा नपुग्ने गरी बन्द गर्न लागेको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै उनले सुनकाण्डमा गठन हुने उच्चस्तरीय आयोगले प्रतिवेदन संसदमै पेस गर्ने व्यवस्था गर्न माग गरे ।
उनले अधिकृतहरूको सरुवाले भ्रष्टाचार नियन्त्रण हुन्छ भनेर जनतामा विश्वास घटेको बताए । ‘भ्रष्टाचारका फाइलहरू खुलेका छन् । तर कुनै पनि टुंगोमा नपुग्ने र बीचमै तुहिने परिस्थिति देखा परेको छ । पाँच महिना सात महिना नपुग्दै प्रहरी अफिसरहरू जुन परिवर्तन भएका छन् । त्यो परिवर्तन केका लागि किन ? कम्तीमा एक वर्ष न्यूनतम सामान्य प्रक्रिया हो,‘उनले भने,‘यसले भ्रष्टाचारको गतिविधिहरूलाई नियन्त्रण हुन्छ भन्ने कुरालाई विश्वास हराएको छ ।’
उनले भ्रष्टाचारको जरैदेखि अनुसन्धान हुनुपर्ने बताए । सरकारलाई प्रतिवेदन पेस गर्ने गरी आयोग गठन गरिएमा यसअघिका आयोगकै हालत हुने भएकाले संसदमा पेस गरी छलफल र सार्वजनिक गर्ने व्यवस्था गर्न सांसद केसीले माग गरे । साम्प्रदायिक दङ्गा मच्चाउन खोज्नेका विरुद्ध सरकारको मौनताका कारण बुझ्न नसकिएको उल्लेख गर्दै नेता केसीले दूरसञ्चारका ग्राहक बढ्ने तर राजस्व घट्ने कारणको खोजी गर्नुपर्नेमा जोड दिए ।
नेपाल टेलिकम र एनसेल दुवैको ग्राहक बढ्दा राजस्व घटेकाले सरकार र सञ्चार मन्त्रालयले यसको छानबिन गर्नुपर्नेमा जोड दिए । पासाल्हामु राजमार्गको काठमाडौंबाट नुवाकोटको पीपलटार खण्डको बजेट कटौती गरिएकोप्रति उनले आपत्ति जनाए ।