• असार २ २०८२, सोमबार

कोशी सरकार विवादः आजबाट पूर्ण इजलासमा सुनुवाइ हुँदै

भाद्र १८ २०८०, सोमबार

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’विरुद्ध नेकपा एमालेले दायर गरेको रिटमा आज (सोमबार)देखि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ।

आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र शुष्मालता माथेमाको इजलासले उक्त मुद्दाको सुनुवाइ पूर्ण इजलासमा गर्ने आदेश गरेको थियो।

प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्रीलाई विश्वासको मत दिएको र उक्त कार्य संविधान विपरीत रहेको दाबी गर्दै नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सर्वोच्चको आदेशपछि थापा नेतृत्वको प्रदेश सरकार ‘कामचलाउ’ अवस्थामा छ।