काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं उपत्यका विशेष प्रदेश इन्चार्ज वर्षमान पुन अनन्तले देशमा अहिले जनताको सरकार रहेको बताएका छन् ।
गोङ्गबु बसपार्कमा ‘जनतासँग माओवादी विशेष अभियान’ को शनिवार उद्घाटन गर्दै पुनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सुशासनका पक्षमा गरेको कामले जनतामा उत्साह बढेको बताए । देशमा पहिलोपटक सरकारले पनि जनताको पक्षमा काम गर्दो रहेछ भन्ने सन्देश प्रवाह भएको उनको भनाइ थियो ।
पुनले सरकार वा राज्य संयन्त्र र सामाजिक संस्थाको नेतृत्वमा पुगेकाहरूमा वैध/अवैध सबै तरिकाले धन आर्जन गर्ने र मोजमस्तीमा खर्च गर्ने प्रवृत्ति हाबी भएको बताए ।
‘आफू पदमा बस्दा त्यसबाट बढीभन्दा बढी शोषण र दोहन गर्ने, वैध/अवैध ढङ्गले कसरी पैसा कमाउने र मोजमस्ती गर्ने भन्ने प्रतिस्पर्धातिर समाज गइरहेको छ । उत्पादन, श्रम वा उद्यम/व्यवसाय गरेर कमाउने नभई सजिलै कमाउने (इजी) मनीतिर समाज आकर्षित भइरहेको छ । बिचौलिया धन्दा र प्रवृत्ति समाजमा हुर्कँदै गएको छ’, उनले भने, ‘पार्टीहरू, राज्य संयन्त्र र समग्र समाजको शुद्धीकरणलाई सरकारले प्राथमिकतामा राखेर सुशासनको अभियान थालेपछि निराश जनतामा उत्साह पैदा भएको छ ।’