काठमाडौँ । पूर्वसुरक्षाकर्मी परिषद नेपालले चीनले जारी नयाँ नक्सामा नेपालको भू-भागलाई भारततर्फ देखाएको भन्दै आपत्ति जनाएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै परिषदले चीनले आफ्नोसहित छिमेकी राष्ट्रहरुको नक्सा जारी गर्दा नेपालको भू-भाग भारतको नक्सामा देखाउनुले गम्भीर आशंका र दरार उत्पन्न गराएको बताएको हो ।
चीनले भू-राजनीतिक नक्सा सार्वजनिक गर्ने क्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नेपालको नक्सालाई स्वीकार नगर्नु र उक्त भू-भाग भारततर्फ देखाउनु दुई देशबीचको मिलेमतोको आशंका उब्जिएको पूर्वसुरक्षाकर्मी परिषदको ठहर छ ।
चीनद्वारा प्रकाशित त्रुटीपूणर् नक्साले सम्पूणर् नेपालीहरुको स्वाभिमान र आत्मसम्मानलाई ठेस पुर्याएको परिषदको बुझाइ छ । चीनसँग नेपालको सदियौँदेखि छुट्टै र विशेष घनिष्ठ सम्बन्ध रहँदै आएको बताउँदै परिषदले चीनले जारी गरेको उक्त नक्सा सच्याउन आह्वान गरेको छ ।
पूर्वसुरक्षाकर्मी परिषद नेपालका अध्यक्ष कोमलबहादुर राउतले चीन र भारत दुई ठूला देशहरुले नेपाललाई सानो भनेर हेप्ने गरेको बताए । देशमा संकट आएको बेला पूर्व सुरक्षाकर्मी परिषदले निरन्तर आवाज उठाउँदै आएको उनले स्मरण गराए । उनले नेपाल र चीनबीचको सम्बन्ध एकदमै प्रगाढ रहेको बताउँदै उक्त नक्सा तत्काल सच्याउन पहल गरिनुपर्ने बताए ।
‘पूर्वसुरक्षाकर्मी परिषद नेपाल राष्ट्र र राष्ट्रियताका निमित्त खबरदारी गर्न कञ्जुस्याँई गर्दैन । छिमेकी राष्ट्रहरुको बीचमा हामी सानो छौं । तर, बलियो छौं । हामीलाई सानो भनेर हेप्ने कुरा भइरहेका छन्,’ उनले भने ।
पूर्वसुरक्षाकर्मी परिषद नेपालका केन्द्रीय सदस्य एवं प्रवक्ता हेमशंकर गिरीले नेपालले मित्र राष्ट्र चीनमाथि अत्यन्तै भरोसा गरेको बताए ।
परिषदका केन्द्रीय उपाध्यक्ष खगेन्द्र बस्नेतले गौतम बुद्धको शान्तिको देशमा आफूहरुले शान्तिपूर्वक बस्न चाहेको बताए । सरकार र राजनीतिक दलहरुले राष्ट्र र जनताको हितमा काम गर्न नसकेको उनको भनाई छ । उनले छिमेकी राष्ट्रहरुलाई छिमेकीको स्थानमा बस्न र सानो भनेर नहेप्नका चेतावनी दिए ।
परिषदका केन्द्रीय सदस्य एवं चन्द्रागिरि नगर समितिका अध्यक्ष विक्रमबहादुर पाण्डेले चीनले नेपालको भू-भाग भारतको नक्सामा विलय गराएर सार्वभौम सत्तामाथि प्रहार गरेको आरोप लगाए । आफूहरुले बारम्बार राष्ट्र र राष्ट्रियताको लागि खबरदारी गरिरहेको बताउँदै उनले राष्ट्र र राष्ट्रियताको लागि गठबन्धन सरकारलाई धेरै झक्झक्याउँदा केही सुन्न नचाहेको गुनासो गरे ।
परिषदका सह-सचिव मोहनसिंह खड्काले चीनले नेपालको भू-भाग भारतमा विलय गराएर नक्सा जारी गर्दा तीन करोड नेपालीको मन रोएको टिप्पणी गरे । चीनले गल्ती गरेको छ भन्ने कुरा कूटनीतिक तरिकाबाट सरकारले महसुस गराउन आवश्यक रहेको उनले बताए । नेपाली सेनाका पूर्वसहायक रथी डा.प्रेमसिंह बस्नेतले चीनले भारतलाई खुसी बनाउनका लागि नेपाली भू-भाग भारतीय नक्सामा विलय गराएको आरोप लगाए ।
सीमाविद् एवं पूर्वनापी विभागका महानिर्देशक बुद्धिनारायण श्रेष्ठले चीनले जारी गरेको नक्साका सन्दर्भमा नेपालले कूटनीतिक तहबाट सच्याउन लगाउन आवश्यक रहेको बताए । नेपाल सरकारले उक्त नक्सा सच्याउन लगाउने सार्थथ्यता नराखेमा सरकारको अकर्मण्यता पुष्टि हुने र नेपाली जनताले सधै दुत्कारीरहने उनको भनाई छ ।