• मंसिर ११ २०८१, मंगलवार

काठमाडौं उपत्यकाको गाईजात्रा

भाद्र १४ २०८०, बिहीबार

हरेक वर्ष भाद्र कृष्णपक्ष प्रतिपदाका दिन काठमाडौं उपत्यकाका नेवारहरुले त्यस वर्षमा मृत्यु भएका घरहरुबाट गाईजात्रा निकाल्ने गरिन्छ । नेवारहरुले ‘सायाः सापारु’ भनिने यो गाईजात्राको परम्परा धेरै पहिलादेखि चल्दै आएको छ । नेवारहरुको यो परम्परा नेवार समुदायमा मात्र सीमित नभई पछि गएर व्यंग्यात्मक हाँस्यव्यंग्य, प्रहसन, नाटक मञ्चनका साथै गाईजात्रे पत्रपत्रिका प्रकाशित गर्ने अनि अन्य सञ्चारमाध्यमबाट पनि हाँस्यव्यंग्यका कार्यक्रमहरु चलाएर चाडपर्वका रुपमा मान्दै आएको देखिन्छ ।

नेवारहरुको यो सायाः अर्थात् गाईजात्रा निकाल्ने चलन कहिलेदेखि चलेको हो भन्ने निश्चित तिथिमिति केही नभए पनि एउटा भनाइ अनुसार नेपाल सम्वत् ५७५ मा राजा प्रताप मल्लका कान्छा छोरा चक्रबतिन्द्र मल्ल दादुरा आई मरेछन् । आफ्नो प्यारो छोरा मरेकाले रानी राजमतिले गरेको शोकलाई राजाले रोक्न जति प्रयास गरे पनि सकिनछिन् ।

रानीको शोक शान्त पार्न राजा प्रताप मल्लले जसको घरमा त्यस वर्ष मानिस मरेको छ, त्यसको नाममा गाईजात्रा निकाली हनुमानढोका राजदरबारमा हाजिरी जनाउनुपर्ने उर्दी दिएछन् । त्यस समयमा काठमाडौं उपत्यका नेवारहरुको देश थियो ।

देशभरिका जनताले मृत परिवारका नाममा निकालेको गाईजात्रा र झाँकी देखेर रानीले ‘यो संसार अनित्य रहेछ यहाँ जो कोहीले पनि मर्नु पर्दोरहेछ ।’ भन्ने ज्ञान प्राप्त गरी ‘मेरो छोरा मात्र होइन, जनताका धेरै मानिस मरेका रहेछन् ।’ भन्ने सम्झेर चित्त बुझाइन् । त्यही समयदेखि राजादेखि रकसम्म देखापरेको बिकृति विसंगतिजस्ता काम कुराको व्यंग्य गर्ने छुट दिइएको हो, भनिन्छ । अरु बेलामा राजा, प्रधानमन्त्री र मन्त्रीलगायत प्रशासकको विरोध गर्न नमिल्ने र गाली गलौज पनि गर्न नमिल्नेजस्ता काम कुराप्रति यसै गाईजाामा व्यंग्यको रुपमा गरिंदै आयो र त्यसबेलाका सरकार र प्रशासकले पनि आफूलाई सच्याउन थालेका हुन भनिन्छ ।

गाईजात्राको झाँकी प्रदर्शन गर्ने परम्परा राजा प्रताप मल्लको पालदेखि सुरु भएको देखिए पनि मरेका मान्छेको नाममा गाईजात्रा निकाल्ने परम्परा राज वंशावली अनुसार राजा जयस्थिति मल्लको शासनकालमा नेपाल सम्बत ५०० तिरै राज खलकमा कोही मर्याे भने गाविन्दवलि गीत गाउन लगाएर देश परिक्रमा गर्ने परम्परा भइसकेको हो । अझ बौद्ध परम्परा अनुसार मर्नेहरुको नाममा भाद्र कृष्ण द्वितीया गाईजात्राको भोलिपल्ट पाटनको मंगलबजारबाट निकालिने मतयाः बत्ती बाल्ने जात्रा, न्यकू जात्रा सिंङ फुक्ने राजा गुणकामदेवको राज्यकालमा सुरु भएको देखिन्छ ।

समग्रमा हेर्ने हो भने गाईजात्रा ऐतिहासिक परम्परा अनुसार काठमाडौंको गाईजात्रा, पाटनको मतयाः र न्यकू जात्रा, भक्तपुरको धिन्ताकिसी जात्राको रुपमा मान्दै आएको पाइन्छ । त्यस्तै, कीर्तिपुरमा बाः चाः हिलेगु नाममा मच्छेगाउँ र पाटनको खोकनामा सिकाली अजिमाको मन्दिर अगाडिको पोखरीमा विभत्स ढंगले जिउँदो बाख्रीलाई खोसाखोस गरेर टोक्दै मारेर गाईजात्रा मनाइन्छ ।

पाटन नगर परिक्रमा गरेर मनाइने मतयाः न्यकू जात्राको बाजामा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म प्रचलनमा भएका सबै बाजाहरुको संयोजन छ भनिन्छ ।

न्यकू सिंङ जात्राबारे एउटा आख्यान अनुसार सिंहकेतु राजाको शासनकालमा रानी सुलक्षणा अत्यन्तै धर्मकर्म गनुपर्ने धार्मिक रहिछन् । तर राजा भने दिनदिनै शिकार खेलेर निर्दोष पशुपंक्षीको हत्या गर्ने गरेकाले त्यसो नगर्न रानीले धेरै पटक अनुरोध गरिन तर केही सिप लागेन ।

एकदिन कालगतिले दुवैको मृत्यु हुन्छ । पशुहत्याराका कारण राजा एउटा ब्राम्हणको घरमा राँगाका रुपमा र रानी उही घरमा ब्राम्हणकी छोरीको रुपमा जन्म हुन पुगिछ । एकदिन राँगो भीरबाट खसेर मर्छ । पूर्वजन्मको कुरा सम्झन सक्ने शक्ति भएकाले ब्राम्हणकी छोरीको रुपमा जन्मेकी रुपमतीले मरेको राँगो आफ्नो पति हुन् भन्ने बुझेर राँगाको हाडखोर जम्मा गरेर बौद्धचैत्य निर्माण गरी राँगाको सिङलाई बाजा बनाई फुकेकी रहिछन् । यही कुरा र घटनाको सम्झनास्वरुप हत्या हिंसाको विपाकबाट बच्न सन्देश दिन हरेक वर्ष यसै दिन पाटनमा सिङ जात्रा र मतयाः पर्व मान्दै आएको हो भनिन्छ ।
पाटनका बौद्धिक नेवारहरु द्यः ब्रम्हु, शर्मा, राजोपाध्यायहरुको भने गुँलाको पञ्चमीका दिन मंगलबजारबाट उपाकर्म सायाः गाईजात्रा निकाल्छन । अकलं सायाः पनि भनिने यो गाईजात्रामा नृसिंहको दाहिने लक्ष्मी, देब्रे सरस्वती र भक्त प्रल्हादको बिन्ती गरिराखेको मुद्रामा पछिपछि जाने गरिन्छ । हिरण्यकश्यप दैत्यको प्रतीक कपडाको पुतला सडकमा घिसारेर नगर परिक्रमा गराइन्छ । रुञ्चे लागेका बच्चालाई त्यस दैत्य पुतलामा छुवाएमा रोग निको हुन्छ भन्ने जनविश्वास छ ।