• असार १ २०८२, आईतवार

सरकार कति दिन टिक्छ थाहा छैन तर भ्रष्टाचार विरुद्धको अभियानमा लागिरहन्छौं : प्रम दाहाल

भाद्र १४ २०८०, बिहीबार

काठमडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको सरकारले भ्रष्टाचारविरूद्धको अभियान चलाएको बताएका छन् । सरकारले दायाँबायाँ नहेरी भ्रष्टाचारविरूद्ध अभियान चलाएको उनले बताए ।

बिहीबार सुर्खेतमा समाजवादी मोर्चाको कर्णाली प्रदेशस्तरीय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘गठबन्धन र सरकारको तर्फबाट भ्रष्टाचारविरूद्ध अभियान चलाइएको छ । सरकारले दायाँबायाँ हेर्दैन । सरकार र मोर्चा एकढिक्का भएर यसैमा केन्द्रित छ ।’

पहिले विभिन्न कारणले अलग भएका दलहरू समाजवादी मोर्चाबाट एक ठाउँमा जुटेकोले आफूलाई खुसी लागेको प्रधानमन्त्री दाहालको भनाइ थियो । ‘सामाजिक न्याय, सुशासनका पक्षमा यो मोर्चा एक भएर लड्दा हामी सफल हुनेछौं,’ उनले भने, ‘सरकार कति दिन टिक्छ कि टिक्दैन मलाई टेन्सन छैन ।’

केही मानिसले दाहालले आफ्ना कार्यकर्तालाई बचाउँछ भन्ने अभिव्यक्ति दिइरहेको उल्लेख गर्दै भने, ‘मैले सिआइबीलाई भनेको छु, गल्ती गरेको भए मलाई पनि समाउनुस्, अनुसन्धान गर्नुहोस् भनेको छु ।’

सरकारले राम्रा काम गरिरहे पनि प्रतिक्रियावादीले नरूचाएको उनको भनाइ थियो । उनले आफू युएन महासभा र चीन भ्रमणमा जाँदा किसानका मुद्दा उठाउने प्रतिबद्धता पनि जनाएका छन् । साथै उनले जमुनाह–हिल्सा सडक निर्माण प्राथमिकतामा रहने बताए ।