• मंसिर ११ २०८१, मंगलवार

जनै पूर्णिमा, रक्षाबन्धन र आजको परिवेश

भाद्र १४ २०८०, बिहीबार

आज जनै पूर्णिमा वा रक्षाबन्धन वा गुन्हु(पुनही हो । सामान्यतया साउनमा पर्ने यो पर्व मलमासका कारण यो वर्ष भदौ १४ गते परेको छ । यसलाई श्रावण शुक्ल पूर्णिमा वा क्वाँटी खाने दिन पनि भनिन्छ ।

१. जनै:
जनै शब्दको अर्थ जनाउनु अथवा जानकारी दिनु हुन्छ । सनातन धर्मका अनुसार क्षत्रीको ठुलो पर्व दशै, वैश्यको ठुलो पर्व दिपावली वा तिहार, शुद्रको ठुलो पर्व होली भनिएको छ भने ब्राह्मणहरुको सबैभन्दा ठुलो पर्व जनै पूर्णिमालाई मानिन्छ ।
जनैलाई यज्ञोपवित पनि भनिन्छ ।

यो यज्ञं पवित दुईवटा शब्द मिलेर बनेको छ । यज्ञ भनेको शुभकार्य, हवन, पुजा पाठ र पवित भनेको शुद्ध पवित्र हुनु । जनैलाई ब्रह्मासूत्र अर्थात् ज्ञानको धागो पनि भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ ।

हिन्दूहरूले बायाँ काँधबाट छड्के पारी दायाँ हातमुनी खोकिलासम्म पहिरिने सेतो सुतीको धागोबाट बनेको डोरीलाई जनै वा यज्ञोपवित भनिन्छ । खासगरी हिन्दूका सोह्र संस्कारमध्ये एक उपनयन वा ब्रतवन्ध गर्दा वैदिक मन्त्रका साथ गुरूले जनै पहिराइदिने प्रचलन रहेको छ । सामान्यतया मान्छेको आयु सय वर्षको मानिएको छ ।

चार वर्ष पूरा गरी पाँच वर्षमा प्रवेश पछि उपनयन गरी धारणा गरिने जनैका जम्मा ९६ डोराले अब बाँकी जीवन अवधि ९६ वर्ष रहेको कुरा जनाउँछ । यसपछि जनैमा प्रयोग गरिने जुन नौ गुणा छ त्यसले शरीरमा विद्यमान नौ द्वारको सङ्केत गरेको भनिन्छ । जनै बनाउँदा पाँच ग्रन्थी अर्थात् पाँच गाँठा पारिन्छन् । यी पाँच गाँठा पञ्चायमहायज्ञका प्रतीक हुन् भनिन्छ ।

आमाको कोखबाट शुद्रको रुपमा जन्मेको बालक जब वर्तमा बाँधिन र ज्ञान प्राप्त गर्न लायक हुन्छ तब ब्रतवन्ध गरिन्छ । आफन्त र विशेषतः आमाले भिक्षा दिएपछि ऊ घर परिवार छोडेर गुरुकुल वा आधुनिक भाषामा विद्यालय जान्छ र कठोर नियममा रहेर २५ वर्षको उमेर सम्म पढ्छ । बर्तवन्धलाई विद्यलयमा भर्ना र २५ वर्षको उमेर हुँदासम्मको अध्ययनपछि उसले ब्रह्म ज्ञान अर्थात् डिग्री उपाधि पाउँछ र ऊ ब्राह्मण बन्दछ । यसरी हेर्दा ब्राह्मण बन्ने प्रकृया कुनै वर्ण र जातसँग सम्बन्धित छैन ।

आजको भाषामा तपाईं डिग्री गर्नु भएको छ भने स्वतः ब्राह्मण हो । तपाईं राजनीतिमा हुनुहुन्छ भने क्षत्रीय र व्यापारमा भए वैश्य हो । जनै कहिलेदेखि लगाउन सुरु गरियो त्यसको एकिन छैन तर वैदिककालदेखि नै लगाउन सुरु गरिएको अनुमान गर्न सकिन्छ । शास्त्र अनुसार जनैलाई रक्षा कवजको रुपमा बुझ्न सकिन्छ ।

देवराज भनिने इन्द्र र दानवराज भनिने बलिराजकोबिचमा १२ वर्ष युद्ध हुन्छ । देवताहरु हारेर भागाभाग हुन्छ र विष्णुको शरणमा पुग्छन् र राक्षसहरुलाई पराजित गर्ने उपाए सोध्छन् । देवगुरु वृहस्पतिले विशेष मन्त्रद्वारा शक्तिशाली धागोको प्रतिपादन गर्छन् र सबै देवतालाई पहिराइदिन्छन । देवताहरु शक्तिशाली भएर दानवराज बलिलाई जित्छन् र त्यहि धागोले बाँधेर कैद गर्छन् र इन्द्रको राज्य फिर्ता लिन्छन् ।

शास्त्र अनुसार जनै र रक्षाबन्धन युद्धसँग जोडिएको छ र यसलाई रक्षाकवज र नेल वा हत्कडी पनि भन्न सकिन्छ । यसरी बुझ्दा आजको दिनमा जनैको कुनै अर्थ र महत्व खास देखिँदैन बरु यसले विभेद र जातीय रेखा कोरेको छ ।

रक्षाबन्धन:
रक्षाबन्धनको अर्थ सुरक्षामाबाँधिने हुन्छ यो रक्षा र बन्धन दुई शब्द मिलेर बनेको छ । रक्षाको अर्थ सुरक्षा वा हेरचाह हुन्छ भने बन्धनको अर्थ बाँधिनु हुन्छ । जनै पूणिर्माका दिन ब्राह्मणहरुद्वारा हुन्दुहरुको हातमा बाँधिने धागोलाई रक्षाबन्धन भनिन्छ । नेपालको तराईमा दिदीबहिनीले दाजुभाईको पुजा गरी हातमा रक्षाबन्धन बाँधिने चलन छ । दिदीबहिनीले दाजुभाईले दिर्घायुको कामना गर्न र दाजुभाईले दिदीबहिनीको रक्षागर्न बचनबद्ध हुने विश्वास दिलाउँछन् । पछिल्लो चरणमा तराई र खासगरि भारतीयहरुको सिको गरी नेपालका धेरै ठाउँमा प्रायः दिदी बहिनीले दाजुभाईको हातमा डोरो बाँधिने चलन चलेको छ ।

जनैको जस्तै यसको पनि इन्द्र र बलिको युद्धसँग जोडिएको प्रसङग छ । यसैकारणले रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरुले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल, तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको छ ।

जनै र रक्षाबन्धनको धार्मिक र वैज्ञानिक महत्व भनिएका विभिन्न लेख रचना वा व्याख्या गरेको प्रचुर मात्रामा पढ्न र सुन्न पाइन्छ । यदि ज्ञान र विज्ञानको कुञ्जी जनै हुँदोहो त संसारभर यसको महत्व बढ्दो हो । व्यवहारीक रुपमा भने ठीक विपरीत छ । यो महत्वहीन भएकै कारण युवा पुस्तामा यसप्रतिको आकर्षण घट्दो छ । अनि नेपाल र भारतका सिमित मान्छेहरुमा मात्र सिमित रहेको छ । वर्तमान समयमा जनै पूर्णिमा वा रक्षाबन्धनलाई हेर्दा दुईवटा कोणबाट हेरिनुपर्छ ।

१. अर्थतन्त्र र २. सुरक्षा नीति ।

१. अर्थतन्त्र : पहिले हिन्दु शास्त्रका अनुसार ब्राह्मणहरु समाजको सबैभन्दा माथिल्लो तहमा रहेका हुन्छन् । उनीहरुको काम कुनै उत्पादनसिल कार्यका हुँदैन । अध्ययन, अध्ययान ज्ञान षड्यन्त्र नीति, नियम निर्माण र राजालाई सरसल्लाह दिनु हुन्छ । विशेषतः श्रावणको महिनामा कुनै अन्नबाली उत्पादन नहुने हुँदा अभाव र अनिकालको महिनाका रुपमा बुझिन्छ ।

यस्तो अवस्थामा कुनै उत्पादनसँग नजोडिएका ब्राह्मणहरुलाई खानपिनकै समस्या र अभाव हुनु स्वाभाविक हो । यसर्थ जनै र डोरोका माध्यमबाट आफ्ना जनमानकमा पुग्ने र आफ्नो समस्या हल गर्ने मेसो थियो । आजको दिनमा जनैको डोरोका कारण नेपाल वार्षिक करोडौं व्यापार घाटामा गएको छ । भारत, चीन र अन्य मुलुकबाट समेत गत वर्ष साढे १७ करोडको जनै र डोरो आयात हुनुले अर्थतन्त्रका आधारमा पनि यो पर्वको औचित्य समाप्त भएको छ ।

२. सुरक्षा निति : जनै वा रक्षावन्धनले समाजमा एउटा सुरक्षा नीति आज पनि कायम रहेको छ । समाजको सबै भन्दा माथी ब्राह्मण रहेको छ सबै उनीहरुको सामु झुक्नु पर्ने, जतिसुकै ठुलो अपराध गरे पनि ब्राह्मणलाई मार्न नपाइने । ब्राह्मणले कति डोराको, क्षेत्रीले कति र वैश्यले कति डोराको जनै लगाउने एक प्रकारको सुरक्षा रेखा कोरिएको हुन्छ । क्षेत्रीले शासन चलाउने वैश्यले व्यापार गर्ने र शुद्रले सबैको सेवा गर्नु पर्ने ।

यस अर्थमा जनैसँग जात र उसको सुरक्षा जोडिएको छ । युद्ध जितेर इन्द्रको राज्य फिर्ता गर्न बनाइएको डोरो वा जनैले आजको हाइट्रोजन बमको जमानामा कस्को सुरक्षा गर्ला यो हाँस्यास्पद कुराको पछि नलागौं । समाजलाई एकताकबद्ध गर्न र विश्व साम्राज्यवादसँग लड्न जनैको डोरो हैन सबै जातजाति एकताको डोरोमा बाँधिनु आजको आवस्यकता हो ।