• असार १ २०८२, आईतवार

एमसीसी लागू भएसँगै सरकारप्रतिको धारणा बारे छलफल गर्न विप्लवले बोलाए स्थायी समिति बैठक

भाद्र १४ २०८०, बिहीबार

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विकसित पछिल्लो राजनीति घटनाक्रमबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ । बैठक केन्द्रीय कार्यालय बुद्धनगरमा शुक्रबार बिहान ८ बजे बस्ने स्थायी कमिटी सदस्य अनिल विरहीले जानकारी दिए ।

अमेरिकी एमसीसी कार्यान्वयन सम्बन्धी सम्झौता बुधबारबाट कार्यान्वयनमा आएपछि रुष्ट भएको नेकपाले बैठकमा विरोधका थप कार्यक्रम, सरकारप्रति दृष्टिकोण, आगामी रणनीति लगायत विषयमा समीक्षा गर्ने भएको छ । ‘शुक्रबार बस्ने बैठकले एमसीसी कार्यान्वयन, विरोधका थप कार्यक्रम, सरकारप्रतिको दृष्टिकोण लगायत विषयमा आधिकारिक धारणा बनाउनेछ’, नेता विरहीले भने ।

महासचिव विप्लवले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर तत्काल एमसीसी कार्यान्वयन नगर्न चेतावनी दिएका थिए । तर प्रधानमन्त्री दाहालले कर्मचारी तहमा प्रवेश गरिसकेकाले आफूले केही गर्न नसक्ने जवाफ फर्काएका थिए । सरकार र एमसीसीका अधिकारीबीच बुधबार कार्यान्वयन प्रतिवेदन आदानप्रदान भएको थियो ।

नेपालको सांसदबाट १२ बुँदे व्याख्यात्मक घोषणासहित पारित भएको सम्झौताबारे अमेरिकाले लिखित प्रतिबद्धता नआएसम्म कार्यान्वयन हुन नदिने अडान नेकपाको छ । सरकारसँग असन्तुष्टि जनाए पनि तत्काल समाजवादी मोर्चाबाट अलग नहुने विरहीले बताए ।