धार्मिक महत्त्व अनुसार द्विज बालकले जनै लगाएपछि नै यज्ञ तथा स्वाध्याय गर्ने अधिकार पाउँछ । द्विजको अर्थ अर्को जन्म हो । जनै जहिले पनि देब्रे काँधमाथि तथा दाहिने हातमुनि पारेर लगाइन्छ ।
जनै तीन वटा पवित्र सूत्रबाट बन्छ । तीन सूत्रले ब्रह्मा, विष्णु र महेशलाई प्रतीक बनाएका छन् । देवऋण, पितृऋण र ऋषिऋण अनि सत्त्व, रज र तमको प्रतीक पनि जनैलाई मानिन्छ । यी तीन सूत्रहरू गायत्री मन्त्रका तीन चरणको र तीन आश्रमका प्रतीक पनि हुन् ।
जनैको लम्बाइ ९६ औँला हुन्छ किनकि जनै धारण गर्ने व्यक्तिले ६४ कला र ३२ विद्या सिक्ने प्रयास गर्नुपर्ने हुन्छ ।
बत्तीस विद्या चार वेद, चार उपवेद, ६ अङ्ग, ६ दर्शन, तीन सूत्र ग्रन्थ र नौ अरण्यक मिलेर बन्छन् । चौसट्ठी कलामा वास्तु निर्माण, व्यञ्जनकला, चित्रकारिता, यन्त्र निर्माण लगायत पर्छन् ।
जनै लगाउने नियम यस्ता छन्
मलमूत्र विसर्जन गर्दा जनै दाहिने कानमा बेर्नुपर्छ र हात सफा गरेपछि मात्र निकाल्नुपर्छ । जनैलाई कम्मरमाथि राख्नुपर्छ र अपवित्र हुन दिनुहुँदैन ।
जनैको एक सूत्र चुँडियो भने त्यो धारण गर्नु हुँदैन । जनै मैलिनु भन्दा अगाडी नै बदल्नु पर्छ वा लगाएको ६ महिनाभन्दा बढी समय भयो भने अर्को बदल्नुपर्छ ।
जनै सफा गर्दा शरीरबाट निकालेर बाहिर राख्नुहुँदैन । सफा गर्नका लागि घाँटीमा नै त्यसलाई राखेर घुमाउँदै धुनुपर्छ । झुक्किएर जनै शरीरबाट निस्कियो भने प्रायश्चित्तका लागि एक माला जप गरेर बदल्ने नियम हिन्दु संस्कारमा छ ।
जनै लगाउने मन्त्र–
यज्ञोपवितं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात ।
आयुष्यमग्य्रं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेज।।
पुरानो जनै त्याग गर्ने मन्त्र
एतावद्दिनपर्यन्तं ब्रहत्वं धारितं मया ।
जीर्णत्वात्तत्परित्यागो गच्छ सूत्र यथासुखम् ।।
रक्षाबन्धनको महत्त्व
आजको दिनमा रक्षाबन्धन धागोमा धेरै मन्त्रहरू पढेर धारण गरिन्छ । जसले मानिसको जीवनमा रक्षा गर्छ, शक्तिशाली बनाउँछ, बाहुबल ऊर्जा बढ्छ भन्ने मान्यता छ । त्यस कारण आज घरघरमा पुरेतहरू गएर आफ्ना यजमानको हातमा रक्षाबन्धनको धागो बाँधिदिन्छन् र दिदी बहिनीले आफ्ना दाजुभाइका हातमा लामो आयु माग्दै राखी बाँधिदिने चलन छ ।