काठमाडौं । अमेरिकी सहायता परियोजना एमसिसी आजदेखि कार्यान्वयनमा आएको छ । अर्थ मन्त्रालयमा बुधबार भएको कार्यक्रममा अर्थमन्त्री प्रकाशशरण महत र एमसिसी कम्प्याट सञ्चालन सम्बन्धी उपाध्यक्ष क्यामरून अल्फोर्डले एमसिसी परियोजनाको कार्यान्वयनमा गएको घोषणा गरेका हुन् ।
आजबाट कार्यान्वयनमा गएको घोषणा भएसँगै एमसिसीको पाँच वर्षे अवधि पनि गणना सुरू भएको छ । यसको अर्थ एमसिसीअन्तर्गत बन्ने परियोजनाहरू सन् २०२८ को अगस्ट ३० सम्म सम्पन्न भइसक्नुपर्ने छ । एमसिसी अन्तर्गत ३१५ किलोमिटर लामो विद्युत प्रसारण लाइन, विद्युत सबस्टेशन र सडक मर्मत आयोजना रहेका छन् ।
प्रसारण लाइनअन्तर्गत पहिलो खण्डमा लप्सीफेदी-रातमाटे-नयाँ हेटौँडासम्मको ११७ किमि लामो प्रसारण लाइन बनाइने छ भने दोस्रो खण्डमा रातमाटेदेखि नयाँ दमौलीसम्मको ९० किमि र तेस्रो खण्डमा नयाँ दमौलीदेखि नयाँ बुटवलसम्मको ९० किमि र नयाँ बुटवलदेखि नेपाल-भारत सीमासम्मको १८ किमिको प्रसारण लाइन बनाइने छ ।
नुवाकोटको रातमाटे, तनहुँको दमौली र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को भुमहीमा ४०० केभी क्षमताका सबस्टेशन बनाउन लागिएको छ । सडक आयोजनाअन्तर्गत पूर्व-पश्चिम राजमार्गमा पर्ने दाङको धानखोलादेखि लमहीसम्मको सडकको स्तरोन्नति गरिनेछ ।
यी सबै आयोजनाहरू कार्यान्वयनमा गएको पाँच वर्षभित्र सकिनै पर्ने एमसिसी सम्झौतामा उल्लेख छ ।
आयोजनाहरू समयमै सम्पन्न गर्नका लागि कार्यान्वयनमा गएको घोषणा गर्नुअघि पूर्वतयारीका कामहरू सम्पन्न गरिएको एमसिए नेपालले जनाएको छ ।