• मंसिर १२ २०८१, बुधबार

आजदेखि एसिया कप क्रिकेट सुरु हुँदै, नेपाल र पाकिस्तान भिड्दै

भाद्र १३ २०८०, बुधबार

काठमाडौँ । एसिया कप क्रिकेट आजदेखि सुरु हुँदैछ । आज हुने उद्घाटन खेलमा नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्व वरियताको नम्बर एक टोली पाकिस्तानसँग खेल्न लागेको हो । नेपालले यो प्रतियोगिता पहिलो पटक खेल्न लागेको हो । तर, पाकिस्तानले भने दुई पटक एसिया कपको उपाधि जितेको छ ।

गत अप्रिल–मेमा सम्पन्न एसीसी मेन्स प्रिमियर कप क्रिकेटको उपाधि उचालेर नेपाल एसिया कपमा छनोट भएको हो ।

यूएई र हङकङ सम्मिलित प्रतियोगितामा नेपाल च्याम्पियन भएर प्रतियोगिताका लागि छानिएको हो । यसअघिको एसिया कपमा युएई र हङकङले खेलेका थिए ।

नेपाली टोली रोहित पौडेलको कप्तानीमा मैदान उत्रनेछ । पाकिस्तानी टोलीको कप्तानी भने बाबर आजमले गर्नेछन् ।

पाकिस्तान आईसीसी एकदिवसीय वरियतामा शीर्ष स्थानमा छ । त्यस्तै भारत तेस्रो स्थानमा छ भने नेपाल वरियतामा १५ औँ स्थानमा छ ।

६ टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् भने समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्।

भदौ ३१ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल र भारतबीचको खेल भदौ १८ गते श्रीलंकाको कान्डीमा हुनेछ ।

प्रकाशित मिति स् १३ भाद्र २०८०, बुधबार ७ स् ०४ बजे