• बैशाख १० २०८२, बुधबार

रोल्पा सुनछहरीमा खाम भाषा पढाइ हुने, अनिवार्य गरिएपछि गैरखामभाषीले जनाए आपत्ति

भाद्र १२ २०८०, मंगलवार

रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिकाले प्राथमिक तहमा मगर खाम भाषा अनिवार्य गरेपछि विरोध सुरु भएको छ । पालिकाले आउँदो शैक्षिक सत्रदेखि प्राथमिक तहमा स्थानीय मगर (खाम) भाषाको कक्षा सुरु गर्ने तयारी थालेपछि गैरखामभाषीले उक्त निणर्य फिर्ता लिन माग गरेका हुन् ।
मगर खाम भाषीको बाहुल्य रहेको गाउँपालिकामा कक्षा ८ सम्म मगर (खाम) भाषाको एउटा विषय अनिवार्य गर्ने पालिकाको तयारी छ । उक्त योजनाअनुसार पहिलो वर्ष कक्षा १ मा अनिवार्य खाम भाषा पढाइ सुरु गर्न लागिएको गाउँपालिका अध्यक्ष धनबहादुर पुनमगरले जानकारी दिए ।
गाउँपालिका भित्रका ३३ वटा स्कुलमा मगर (खाम) भाषाको पढाइ हुनेछ । सबै स्कुलमा खाम भाषा अनिवार्य गर्दा खस-आर्य तथा गैर खामभाषी विद्यार्थीलाई समस्या हुने भन्दै अनिवार्य नगर्न गाउँपालिकामा ज्ञापनपत्र समेत पेश भएको छ ।

खाम भाषा तत्काललाई अनिवार्य नगर्न माग राख्दै स्थानीय टेकबहादुर विष्टको संयोजकत्वमा गठित टोलीले गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनमगरलाई सोमबार ज्ञापनपत्र बुझाएको हो । ‘खाम भाषा विषय शिक्षण गर्ने भनी गरिएको निणर्यप्रति पालिका भित्रका खस-आर्य तथा मगर खाम भाषा मातृभाषा नभएका समुदाय तथा विद्यार्थीहरूका लागि आपत्ति छ’, विज्ञप्तिमा भनिएको छ, ‘पालिकाले तत्काल सो निणर्य सच्याई आफ्नो मातहतका विद्यालयहरूमा मगर खाम भाषा विषयलाई अनिवार्य नभै ऐच्छिक विषयमा राखी विद्यार्थीहरुको मगर खाम भाषा विषय वा अन्य वैकल्पिक विषय अध्ययन गर्न पाउने व्यवस्था गरिदिनुहुन अनुरोध छ ।’

गाउँपालिका अध्यक्ष धनबहादुर पुनमगरका अनुसार पालिकाको कुल जनसंख्यामध्ये ७२ प्रतिशत मगर समुदाय छन् । तर, भाषागत रुपमा ४७ प्रतिशतमात्रै मातृभाषा बोल्ने मगर छन् । उनले मगर खाम भाषा लोप हुन लागेकाले त्यसलाई जगेर्ना गर्न खाम भाषा अनिवार्य गर्न लागिएको दाबी गरे ।

‘हामीले मगर खाम भाषा जबर्जस्ती लाद्न लागेको होइन । केही कुरा उहाँहरुको बुझाइमा समस्या भएको जस्तो लाग्छ । हामीले यो निणर्य तत्कालै लिएको पनि होइन, यहाँका सबै समुदाय, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक सबैसँग सल्लाह गरेरै निणर्य लिइएको हो,’ उनले भने, ‘यसका लागि पाठ्यपुस्तक पनि तयार भइसकेको छ ।’ खाम भाषाका लागि तयार पारिएको पाठ्यपुस्तकमा खाम भाषामात्रै नभएर नेपाली, अंग्रेजीमा सबै शब्दार्थ पनि राखिएकाले अन्य भाषाभाषीलाई समस्या भने नहुने दाबी पालिका अध्यक्ष पुनमगरको छ ।
‘सबैले बुझ्ने गरी बहुभाषिक रुपमा पाठ्यपुस्तक तयार पारेका छौं । सुरुमा उहाँहरुले नै यो त हुनुपर्छ भन्नुभयो, अहिले किन विरोध गरिराख्नुभएको छ, बुझ्न सकेको छैन’, उनले भने ।

मगर खाम भाषा पढाउन शिक्षकको समेत माग भइसकेको पालिका अध्यक्ष पुनमगरले जानकारी दिए । उनले भने, ‘पहिलो मातृभाषा खाम रहेकाहरुलाई नै हामीले शिक्षकका रुपमा सर्ट लिस्ट गरेका छौं । यो वर्ष १ कक्षा र त्यसपछि विस्तारै ८ कक्षासम्म अनिवार्य खाम भाषाका कक्षा सञ्चालन गर्ने योजना हो ।