• असार १ २०८२, आईतवार

१२ बुँदे व्याख्यात्मक घोषणालाई एमसीसी सम्झौताको अंश बनाउने कि नबनाउने अमेरिकालाई सोध्छु : प्रम दाहाल

भाद्र १२ २०८०, मंगलवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले १२ बुँदे व्याख्यात्मक घोषणालाई एमसीसी सम्झौताको अंश बनाउने कि नबनाउने भनेर अमेरिकी अधिकारीलाई सोध्ने बताएका छन् ।

एमसीसी परियोजना भोलि बुधबार कार्यान्वयनमा जाँदैछ । त्यसका लागि एमसीसी सम्झौता कार्यान्वयन सम्बन्धी उपाध्यक्ष क्यामरुन एलफोर्ड नेपाल आइपुगेका छन् । त्यसको अघिल्लो दिन मंगलबार प्रधानमन्त्री दाहाल स्वयमले एमसीसी सम्झौता अनुमोदनका क्रममा संसदले पास गरेको १२ बुँदे ब्याख्यात्मक घोषणा कार्यान्वयन हुनेमा आशंका रहेको बताएका छन् ।

समाजवादी मोर्चाले बुटवलमा आयोजना गरेको सन्देश सभामा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका दाहालले एमसीसीबारे आफूले धेरै बोल्दा फाइदा नगर्ने बताए । एमसीसी अनुमोदन गर्ने क्रममा आफूले के-के गरेँ भनेर फेहरिस्त पेश गर्ने हो भने नेपालको परराष्ट्र नीतिको सन्तुलन बिग्रिने खतरा रहेको उनले बताए । उनले अगाडि भने, ‘के चाहिँ भन्छु भने नेपालको राष्ट्रिय हित, स्वाधिनता र सार्वभौमसत्ताको रक्षाका लागि लडिठरहेको छु,जसरी जनयुद्धको बेला लडेको थिएँ ।’

अनुदान दिएर नेपालमा विकास गर्छौं भन्नेको अनुदान पनि लिने र राष्ट्रिय हित पनि प्रवर्धन हुने उपायको खोजी गर्ने क्रममा व्याख्यात्मक घोषणा भेटिएको उनले बताए । अन्तर्राष्ट्रिय कानुनी मान्यता प्राप्त घोषणा भएको भन्दै उनले भने, ‘भोलि गडबड भयो भने आन्दोलनमा जानसक्ने उपाए के छ भन्दा १२ बुँदे घोषणा ।’

संसदबाट सर्वसम्मत रुपमा पास भएको १२ बुँदे व्याख्यात्मक घोषणा सदनको सम्पत्ति भएको उनले बताए । ‘यसलाई कार्यान्वयन गर्ने हुन्छ कि हुन्न भन्नेमा आशंका छ’ समाजवादी मोर्चाको कार्यक्रममा विप्लव लगायतका नेताहरुले उठाएको आशंकामा सही थप्दै दाहालले भने, ‘अहिले एमसीसीबारे एक जना अधिकारी आउँदै हुनुहुन्छ । प्रधानमन्त्री भएकाले मसँग भेट्ने भइहाल्यो ।’

उनले अगाडि भने, ‘म व्याख्यात्मक घोषणालाई सम्झौताको अंश बनाउने हो वा होइन सिधा भाषामा राख्ने छु । त्यसपछि के गर्नुपर्छ के हुन्छ भनेर मोर्चामा सल्लाह गरेर गरिन्छ ।’