पतनशील व्यवस्थाले मानव हितकारी संस्कृतिको न सृजना गर्न सक्छ, न त्यसलाई अगाडि बढाउन सक्छ । समानता, स्वतन्त्रता र भातृत्वको नारा सहित हिजो पूँजीवाद तत्कालीन शासकीय विचार–संस्कृतिको विरुद्ध खडा भएको थियो । चर्चको सत्ताविरुद्ध विज्ञानलाई हतियार बनाएर ठूलो लडाइँ लडेको थियो । आज तिनै कालातीत बनिसकेका विचारहरुलाई बोकेर यसले समाजलाई पतनको गर्तमा धकेलिदिएको छ ।
विद्यमान व्यवस्थाका सबैभन्दा विकृत सांस्कृतिक अभिव्यक्तिहरु भनेका झांगिदै रहेको भाग्यवाद, साम्प्रदायिकता, व्यक्तिवाद अनि शब्द र कर्मको बिचका खाडल हुन् । समाजमा शिक्षाको नाउँमा कुशिक्षाको खेती छ । विज्ञानको ठाउँमा अहिले पनि आस्था र छद्म विज्ञानको प्रभाव छ । संस्कृतिका नाउँमा अपसंस्कृति बलियो छ । सुन्दरता र प्रेमको नाउँमा कुरुपता, अश्लिलता, पाखण्ड र नग्नताको ब्यापार छ । व्यक्ति हित र सामाजिक हित एकअर्काका विरोधी बन्दै गएका छन् ।
समाज जहाँ आइपुगेको छ, त्यो अवस्थाप्रति मानिसहरुको प्रतिक्रिया कस्तो छ भन्ने बारेमा बंगलादेशका संस्कृति चिन्तक–लेखक बदरुद्दीन उमर भन्छन्–“समाजको पतनोन्मुख अवस्था आज कति स्पष्ट छ भने यसलाई यसरी नै चलाएर राख्ने कुरोसम्म कोही पनि खुलेर गर्न सक्दैन । त्यसैले सत्तासीन वर्ग र अन्य सबै प्रतिक्रियावादी वर्ग पनि समाज परिवर्तनका कुरा गरिरहेका छन् ।”
आज नेपाली समाजको अवस्था पनि यस्तै छ । आयातित संस्कृति भनेर हामीले जुन संस्कृतिलाई भनेका छौं ती जहाँबाट आएका हुन् त्यहाँ पनि अप्रसांगिक भैसकेका कचडाहरु हुन् । यदि आउनुपर्ने सही कुरा थिए भने पनि ती उतै छुट्छन्, या यहाँसम्म आइपुग्दा विकृत भइसक्छन् । आफ्नो मौलिकता, पहिचान, स्वत्व र संस्कृतिलाई संरक्षण गर्ने नाउँमा जेजस्ता कुराहरु अगाडि सारिंदैछन् ती पनि मानवसमाजका निम्ति अभिशाप साबित भइसकेका छन् । अर्थात् व्यवस्थाले ती सबै कुराहरुलाई प्रवद्र्धन गर्दैछ जुन मानव जातिको अहितमा छन् ।
आफ्नो देशभित्रका हुँदैमा खराबीहरु कहिल्यै हाम्रा हुन सक्दैनन् । मानव जातिकै कलंक जात व्यवस्था हाम्रै समाजका पहिचान हुन्, पशु पुज्ने, पशुको पक्षमा जुलुश निकाल्ने तर अन्यायपूर्ण तरिकाले मान्छेहरु मारिंदा पनि मुक दर्शक बनेर रमिता हेर्ने यही समाज हो । मानिसलाई छिःछिः, दूर–दूर गर्ने परम्परा आज पनि कायम छ । दलितहरुको मन्दिर प्रवेशको मुद्धा ठाउँ–ठाउँमा द्वन्द्वको कारण बनिरहेको छ । धर्म, संस्कार र परम्पराको नाउँमा आज समाजमा लैंगिक विभेद बलियो छ, सती नामको अपराधी प्रथा हाम्रै समाजमा थियो ।
धार्मिक तथा साम्प्रदायिक घृणा, द्वेष र हिंसाहरुको खेती दक्षिण एसियामै बढि छ । अन्धविश्वास र भाग्यवादले मानिसलाई सत्यबाट सधै टाढा बनाउँछ । ती कहिल्यै मानव जातिको हितमा हुन सक्दैनन् । मरणशील परम्पराहरुको लास काँधमा बोकिराखेर कुनै पनि समाजको उत्थान संभव छैन ।
एकथरी अन्धविश्वासको विकल्प अर्को खाले अन्धविश्वास हुनसक्दैन । अन्धविश्वासबाट मुक्ति मात्र सही विकल्प हो । जसरी अहिले विकल्प खोज्ने या आफ्नोलाई सही साबित गर्ने नाउँमा अन्धविश्वासको प्रतिस्पर्धा चलिरहको छ । हिन्दू धर्मको विकल्प क्रिश्चियन धर्मलाई अगाडि सारेर होस् या इशाई ढोंग, पाखण्ड, अन्धविश्वास र चमत्कारको ठाउँमा हिन्दू अन्धविश्वास र चमत्कारलाई बढावा दिएर । यी सबै बढ्दो साम्प्रदायिकताका लक्षण हुन् । अर्थात् हरेकलाई एकअर्काको विरुद्ध उभ्याउने, त्यो पनि काल्पनिक सत्ता र अन्धविश्वासको नाउँमा । साम्प्रदायिकताले समाजमा घृणा, हुलदंगा, हिंशा र फुट–विभाजन ल्याउने काम बाहेक अरु केहि गर्दैन । यसको सबैभन्दा खराब परिणाम के हुन्छ भने साझा दुश्मन सुरक्षित रहन्छ, काल्पनिक दुश्मनका नाउँमा शोषित पीडित वर्ग विभाजित हुन्छ ।
एकातिर हिन्दू धर्मभित्र विभेद छन्, यीशु परमेश्वरको शरणमा गए सबै ठीक हुन्छ भन्दै मानिसहरुलाई बहकाउने, ईशाई धर्मको व्यापार बढ्दो छ । अर्कोतिर छद्म विज्ञानको सहारा लिंंदै कहीं नभएको सहिष्णुता, वैज्ञानिक सच्चाईहरु, लोककल्याणकारी कुराहरु हिन्दू धर्मभित्रै छन् भन्दै विज्ञानविरोधी कुतर्क हिन्दू धर्मका ठेकेदारहरु गर्दैछन् । जब कि यी सबैको सारतत्व भनेको समाजमा रुढि, अन्धआस्था, तर्कहीनता, चमत्कार, भाग्यवादको उत्पादन गर्नु र मानिसलाई उल्लू बनाइराख्नु हो ।
अर्कोतिर दिनानुदिन उपभोक्तावादी संस्कृतिको विषाक्त जहर फैलिंदो छ । असैद्धान्तिकता, तर्क, जिज्ञाशा र प्रश्नविहीनता थप संस्थागत हुँदैछन् । मानिस जति शिक्षित हुँदैछ त्यति मूर्ख साबित हुँदैछ । अन्तर्यमा हेर्दा शिक्षाको नाउँमा कुशिक्षाको भारी बोकेर हिंडेको छ कथित शिक्षित मान्छे । असामाजिकता, विचारहीनता र बढ्दै गएको उपभोगको लालच त्यसका विशेषताहरु हुन् । अर्थात् शिक्षाको ध्येय जेजस्तो बनाइएको छ, त्यसले मानिसलाई थप अज्ञानी बनाउँदैछ ।
अहिलेको शिक्षा प्रणालीको ध्येय सचेत, जिउँदो–जाग्दो, सत्तालाई प्रश्न गर्ने र जागरुक मानिस तयार गर्नु होइन । बरु एउटा भाग्यवादी सोंच भएको, विद्यमान शोषणकारी बजारका लागि चल्दापूर्जा माल तयार गर्नु हो, जो सजिलै विकोस् । बिक्नलायक बन्नुको अर्थ हो–एउटा उम्दा उपभोक्ता र आर्थिक व्यक्तित्व तयार हुनु । त्यही जगमा निर्मित मनोविज्ञान र संस्कृतिकै उपजको रुपमा आजका अभिभावकहरु आफ्नो सन्तान विषाक्त संस्कृतिको आहालमा डुबुल्की मार्दा पनि भेउ–पत्तो पाउँदैनन् । जब ऊ आलोचनात्मक, विद्रोही, व्यक्तिगत स्वार्थविरोधी बन्न थाल्छ, उनीहरुको निद हराम हुन्छ । आजको समाजको रवैया समाज, ज्ञान र चेतनाविरोधी छ ।
शिक्षक विद्यार्थीहरुका लागि यतिखेर सामाजिक आदर्श पात्र हुने हैसियत राख्दैन । शिक्षकलाई देखेर विद्यार्थीमा बद्लाव र सृजनाको कुनै भोक जाग्दैन । जब कि विद्यार्थीका लागि शिक्षक जिउँदो पाठ्यपुस्कत हो । ऊ जे छ, त्यस्तै व्यक्तित्व विद्यार्थीले आफूभित्र खोज्ने हो । आफू स्वयम् जलेर विद्यार्थीलाई बाटो देखाउने कर्ता होइन, बरु निस्क्रिय, लालची र जिविकामुखी जागिरे भएको छ । आफ्नो शरीरको पनि तौलले थेग्न नसक्ने भारी विद्यार्थीले बोक्छ तर शिक्षक आफू मैनबत्ती बन्नका लागि हातमा एउटा पुस्तक बोक्दैन । ऊ अरुले कार चढिसके भनेर चिन्तित छ, जसरी पनि घरका तला थप्ने चिन्ताले आजको शिक्षित मानिसलाई सताएको छ, तर उसको घरको भूगोलको कुनै कुनामा ज्ञानको दियो सल्काउने र दिमागमालाई तरोताजा राख्न सघाउने चारवटा गतिला पुस्तक भेटिदैनन् ।
मेरो समाजको शिक्षित मान्छे ब्यांक ब्यालेन्स नबढेकोमा चिन्तित छ । तर घट्दै गएको ज्ञानको ब्यालेन्स अनि खिया लाग्दै गएको बौद्धिकताप्रति उसलाई कुनै फिक्री छैन । पतनशील संस्कृतिको एउटा विशेषता भनेको मानिसभित्र ज्ञान र चिन्तनको भोक मर्दै जानु हो । बालबालिकाहरुका लागि पारिवारिक सांस्कृतिक पर्यावरण त्यस्तै साँघुरो र व्यक्तिवादी छ जस्तो विद्यालयमा छ । यस्तो माहोलभित्र कस्तो व्यक्ति निर्माण हुन्छ भन्ने कुरा प्रष्ट छ । जसरी अफिमको खेती गरेर अनाज उम्रिदैँन, त्यसैगरि व्यक्तिवादी र विषाक्त साँस्कृतिक पर्यावरणम हुर्किएको मानिसमा समाजमुखी, वैज्ञानिक र आलोचनात्मक संस्कृतिको निर्माण हुँदैन ।
यो समयमा नेताहरु र धार्मिक सम्प्रदायका बाबाहरुको बिचमा कुनै भिन्नता छैन । बाबाहरु आलोचक होइन, आफ्नो वरिपरि श्रद्धालु भक्त चाहन्छन् । नेताहरु पनि कार्यकर्ताको नाउँमा भक्तहरु नै खोज्छन् । बाबाहरुका लागि आलोचनात्मक ज्ञान दुश्मन हो, भजन मात्र मुक्तिको बाटो हो । त्यसरी नै नेताहरुका लागि ज्ञान र आलोचनात्मक चेत दुबै दुश्मन साबित भएका छन् । पुस्तक पढ्ने, सृजना गर्ने र आलोचनात्मक व्यक्ति उनीहरुका लागि त्यत्तिकै काम नलाग्ने हुन् जसरी एउटा भोकाएको कागलाई बेल काम लाग्दैन ।
आजको मानिस यस्तो विषाक्त संस्कृतिभित्र हुर्किंदैछ, जसले दिनानुदिन मानिसलाई सामाजिक–साँस्कृतिक होइन नाफामूलक व्यक्तित्वमा ढाल्दै जान्छ । व्यक्तित्व, सम्मान, सहयोग, प्रेम र सम्बन्धका यावत आयाम र घनत्वहरु पैसाको तराजुमा जोखिन्छन् । नांगिएर होस् या समाजसेवी अगुवाको नाटक गरेर, धर्मको धन्दा चलाएर होस् या एकअर्कालाई धोखा दिएर, देशको नागरिकता त्यागेर होस् या झूठ एवं जालझेलका खेल खेलेर मानिसको एकमात्र उद्देश्य पैसा कमाउनु भएको छ ।
संस्कृतिको निर्माण मानिसले नै गरेको हो । सँगसँगै मानिसको निर्माण पनि संस्कृतिले गर्छ । यी दुबैको बिचमा दोहारो सम्बन्ध छ । संस्कृतिभन्दा बाहिर मानिस व्यक्ति बन्न सक्दैन । तर कस्तो र कस्को संस्कृति भन्ने कुरा महत्वपूर्ण छ, जुन प्राय विद्यमान व्यवस्थाले छिपाउने गर्छ ।
दुई वर्ग, दुई स्वार्थ र दुई संस्कृति आजको समाजको सच्चाई हो । समाजमा त्यही संस्कृति शासक संस्कृति हुन्छ जसलाई सत्ताले संरक्षण गर्दै आएको छ । हजारौं वर्षदेखि शोषक वर्गले शासित वर्गको दिगमा आफ्नो संस्कृतिको भारी बोकाइदिएको छ । उसलाई थाहा छ दिमागी शासन हतियारले गरिने शासनभन्दा कैयौं गुणा सहज, सुरक्षित र फाइदाजनक छ । त्यही भएर पितृसत्ताको बलियो बाहकको रुपमा महिलाहरु उभिन्छन् । उत्पीडित समुदायमा पनि जात व्यवस्था मजबुत हुनेगर्छ । श्रमजीवी वर्गभित्रै आफूजस्तै अर्कोलाई चर्को शोषण, उत्पीडन गर्ने संस्कृति हुन्छ । मालिक खोज्ने प्रवृत्तिले अहिले पनि जरा गाडेको छ ।
मानिस दुईपटक जन्मिन्छ–एउटा भौतिक रुपमा अर्को साँस्कृतिक रुपमा । दुईपटक जन्मिएर दुईथरि मानिस नै तयार हुन्छन् एउटा सत्ताधारी वर्गलाई काम लाग्ने अर्को त्यसको बिरुद्ध उभिने । इतिहासको कुनै कालखण्ड वैज्ञानिकता र अन्धविश्वास, दमन र विद्रोहबिचको संघर्षबाट मुक्त छैन । विद्यमान सत्ताले तय गरिदिएको संस्कृतिलाई हुबहु शिरोपर गरेर हिंड्ने र त्यसप्रति प्रश्न खडा गर्ने प्रवृत्तिहरु समानान्तर रुपमा क्रियाशील छन् । यो आजदेखिको कुरा होइन, जुन दिनदेखि वर्गको उदय भयो त्यहाँदेखिको कुरा हो ।
संस्कृति, परम्परालाई वर्ग निरपेक्ष रुपमा बुझ्नु गलत हो । सत्तासीन साँस्कृतिक परम्परा र सत्ता इतर साँस्कृतिक परम्पराहरु समाजमा सधैं द्वन्द्वरत रहँदै आएका छन् । शिक्षितहरु जब सत्ताधारी वर्गका हतियार बने त्यतिखेर उनीहरु दाश नै भए । जब सत्तालाई आँखा जुधाएर प्रश्न गर्ने भए तब उनीहरु साँचो अर्थमा विद्रोही बने । खासमा ती व्यक्तिहरु नै बौद्धिक हुन् जो विद्रोही छन् । हामीकहाँ अहिले पनि अवसरका लागि आत्माको क्रय–विक्रय गर्नेहरुलाई नै बौद्धिक ठानिन्छ । मिठो भाषाको नौनी लगाएर झूठलाई कलात्मक ढंगले पेश गर्नेहरु सत्यवादी कहलिन्छन् । सत्यसँग निसर्त प्रेम, त्यसका लागि जोखिम मोल्ने आँट र सत्तालाई प्रश्न गर्ने सामथ्र्य यी तीन विशेषता नभएको व्यक्ति छद्म बौद्धिक त हुनसक्ला तर बौद्धिक हुनसक्दैन ।
हामी यस्तो समयमा बाँचिरहेछौं, जहाँ मानवीकरण र अमानवीकरणको बिचमा संघर्ष जारी छ । यो श्रम, सृजना र जनताको संस्कृतिमाथि घोर दमनको समय हो । विज्ञान, प्रविधि र शिक्षालाई मुट्ठीभर वर्गको नाफाको निम्ति र जनहीतको विरुद्धमा प्रयोग गरिएको छ । पतनशील व्यवस्थाभित्र मानिसको व्यक्तित्व निरन्तर विघटित हुँदैछ । आजका बौद्धिकहरुको सार्थक दायित्व पतनशील सत्ता र संस्कृतिको बिरुद्धमा आफूलाई खडा गर्नु हो ।
यतिखेरको सबैभन्दा ठूलो चुनौति भनेको बौद्धिक खरिद बिक्रीको चुनौति हो । प्रगतिशीलताको नाउँमा भइरहको बौद्धिक कारोबार प्रतिक्रियावादी संस्कृति भन्दा अझैं घातक छ । श्रमाथि पुँजीको कब्जा, विषाक्त उपभोक्तवादी संस्कृति, अन्धआस्था, भाग्यवाद र साम्प्रदायिकता र त्यसलाई संरक्षण गर्ने शासक वर्गको पक्षमा उभिने या त्यसबाट प्रताडित वर्गको पक्षमा ? आज पतनशील संस्कृतिको विरुद्धमा आफूलाई उभ्याउनु भनेको वैज्ञानिक र समाजवादी संस्कृतिको पक्षमा क्रियाशील रहनु नै हो । आज यी दुईभन्दा कुनै तेस्रो विकल्प हाम्रो सामु छैन ।